ओलीको आरोप– माओवादीले संसदलाई झूट, बेइमानी र फट्याइँ बोल्ने थलो बनाए
काठमाडौं— नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई माओवादी केन्द्रले झूट, बेइमानी र फट्याइँ बोल्ने थलो बनाएको आरोप लगाएका छन्।
सोमबार पार्टी कार्यालयमा छक्कबहादुर लामालाई औपचारिक रूपमा केन्द्रीय सदस्यको जिम्मेवारी दिँदै ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकार भ्रष्ट र लुटेरा भएको टिप्प्णी गरे। ‘यो सरकारले नगराएको भए सुन तस्करी गराउँछ कसले?,’ उनले प्रश्न गर्दै भने, ‘साधारण व्यक्तिले त थैली पनि लान पाउँदैन। ढुंग्री(मुन्द्री पनि चेक गर्छ।’
उनले सरकारको संलग्नाबिना क्विन्टलका क्विन्टल सुन भित्रनै नसक्ने बताएका छन्। ‘यो सरकार अनौठो सरकार छ। एउटा बाटोबाट एउटा आइटम देखाएर ल्याएको मात्रै क्विन्टल रहेछ। एयरपोर्ट त ल्याउनै नसकिने ठाउँ हो नि, ब्रेक शुबाट पनि ल्याएकै छ। सिगरेटबाट ल्याएकै छ। खानेपानीको मोटरबाट पनि ल्याएकै छ। जेबाट पनि सुन ल्याएकै छ,’ उनले भने, ‘अनि हल्ला चलाउँछ, सबका फाइल खोलिन्छ। यस्तो गरिन्छ, उस्तो गरिन्छ।’
ओलीले माओवादी केन्द्रलाई हल्ला चलाउने डफ्फाको संज्ञा दिए। ‘माओवादी भन्ने छ एउटा डफ्फा.. त्यो डफ्फाको काम नै बदमासी गर्ने, हल्ला अरूतिर चलाइदिने हो,’ उनले भने, ‘मानिसहरू हल्लाका पछाडि कुद्छन्। माओवादी केन्द्र मानिसहरूले प्रायोजित हल्ला चलाउँछन्। त्यो कुरा भइरहेको छ।’