नेपाललाई गरिबी मुक्त देश बनाउनुपर्ने बारेमा चीनको अनुभव लिन सुझाव दिएः सीके राउत
काठमाडौं— जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्रीले बोलाएको बैठकमा आफूले नेपाललाई गरिबी मुक्त देश बनाउनुपर्ने बारेमा चीनको अनुभव लिन सुझाव दिएको बताएका छन् ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न अमेरिका र चीन भ्रमणबारे सुझाव लिन बोलाएको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राउतले यस्तो बताएका हुन् । उनले गरिबी निवारमा चीनले ठुलो सफलता पाएको र त्यसको अनुभवबाट नेपालले पनि गरिबी निवारण गर्नुपर्ने भन्दै चीनसँग अनुभव लिन सुझाव दिएको बताए।
उनले भने, ‘म्यानुफ्याक्चरिङ क्षेत्रमा पनि चीन धेरै अघि भएको हुनाले उद्योगहरूको मोडलमा चीनले नेपालमा उद्योगहरू खोल्ने र प्रोडक्ट चीनले आफूमार्फत निर्यात गर्न आग्रह गर्न भनेका छौँ । स्थानीय रूपमा रोजगारी सिर्जना होस् भन्ने लक्ष्य हो । फर्टिलाइजर उद्योगहरू स्थापना गर्न चीनले मद्दत गरोस् भन्ने हो । नेपाल केमिकल फर्टिलाइजरमा परनिर्भर हुन नपरोस् भन्ने हो ।’