वार्षिक साधारण सभा घोषणा गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे बैंक
काठमाडौं – माछापुच्छ्रे बैंक वार्षिक साधारण सभा गर्ने पहिलो बैंक बनेको छ । आर्थिक बर्ष २०७९÷०८० को वार्षिक साधारण सभा आगामी असोज १८ गते गर्ने निणर्य गरेर माछापुच्छ्रे बैंक साधारण सभा गर्ने पहिलो बैंक बनेको हो ।
बैंकको शेयरधनीहरुलाई गत आ.व.को मुनाफबाट १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले रु. १,३६,४२,०१,६९२÷—(चुक्तापूँजीको १३.३० प्रतिशत) बोनस शेयर र रु. ७,१८,००,०८९÷—(चुक्तापूँजीको ०.७० प्रतिशत) नगद लाभांश कर प्रयोजनको लागि गरेर जम्मा कर सहित १४ प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरेको बैंकले जनाएको छ ।
राष्ट्र बैंकको स्वीकृति पछि मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उपरोक्त मितिमा वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण हुनेछ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८५ पैसा कायम गरेको थियो । बंैकको चुक्तापूँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपंैया संचित छ ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।