सहज ढंगले यातायातलाई सञ्चालन गर्ने वातावरण बनाउनु अहिलेको आवश्यकताः गृहमन्त्री

आइतबार, १४ असोज २०८०

काठमाडौं— उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहज ढंगले यातायातलाई सञ्चालन गर्ने वातावरण बनाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् ।

आइतवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । श्रेष्ठले महानगरपालिका, ट्राफिक प्रहरी, नगरपालिकाहरु, यातायात व्यवस्था विभाग सबै निकाय मिलेर एकीकृत योजना बनाएर अघि बढेमात्रै यातायात क्षेत्रको व्यवस्थापन गर्न सकिने बताए ।

गृहमन्त्री श्रेष्ठले ट्राफिक व्यवस्थापन राम्रो गर्न नसके आम जनताको शान्ति सुरक्षा र सुव्यवस्थामा पनि असर गर्ने बताए । उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले पछिल्लो १० वर्षमा सशस्त्र द्वन्द्वको समयको भन्दा बढी मानिसको सडक दुर्घटनाका कारण मृत्यु भएको बताए ।

‘हामीले समग्रतामै यसबारेमा सोचेर अभियान सञ्चालन गर्नुपर्ने, सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता छ । तर ट्राफिक सचेतना अभियान सञ्चालन गरिरहँदा मुख्य जोड सडक दुर्घटनामै भएपनि अरु पक्षमा पनि हामीले बुझ्नुपर्छ’ गृहमन्त्री श्रेष्ठले भने, ‘यसले सडक सुरक्षा र दुर्घटनाबाट बचाउनुका अतिरिक्त आम जनताको जीवनलाई सरकारी कार्यालयका कर्मचारी वा सेवाग्राहीहरु समयमै काम सम्पन्न गर्ने स्थिति बनाउन सक्छौँ कि सक्दैनौँ भन्ने कुरामा पनि यसको ठूलो महत्व छ । सहज ढंगले यातायातलाई सञ्चालन गर्ने वातावरण बनाउनु पर्छ । कुनै एउटा निकायले मात्रै सक्दैन । महानगरपालिका, ट्राफिक प्रहरी, नगरपालिकाहरु, यातायात व्यवस्था विभाग सबै निकाय मिलेर एकीकृत योजना बनाएर अघि बढ्नुपर्छ ।’

गृहमन्त्री श्रेष्ठले सार्वजनिक यातायात नबढाएसम्म सडकको स्थिति राम्रो भएपनि धान्न नसक्ने बताए ।