संविधान दिवसका अवसरमा रिगललाई दिइएको कैद मिनाहाप्रति ओलीले उठाए प्रश्न

मंगलबार, १६ असोज २०८०

काठमाडौं— प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा भएको कैद मिनाहाप्रति प्रश्न उठाएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै एमाले अध्यक्ष ओलीले उक्त माफीको सम्बन्धमा प्रश्न उठाएका हुन् । संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मुद्दामा सजाय पाएका नेपालगञ्जका योगराज ढकाल रिगलको कैद माफी गरिदिएका थिए ।

‘एउटा दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मारेको मान्छेलाई २० वर्ष कैद गरेको छ । दुई चार वर्ष बसेपछि छोडिन्छ’, ओलीले भने, ‘नेपालगञ्ज आतंकित छ । पीडित परिवार आतंकिंत छ । यस्ता मान्छे छानी छानी किन पुरस्कृत गरिन्छ? किन सम्मानित गरिन्छ ।’