भ्रष्टाचारको फाइल खोल्छु भनेर सरकारले प्रतिपक्षलाई तर्साउन खोज्योः ओली

मंगलबार, १६ असोज २०८०

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारको फाइल खोल्छु भनेर सरकारले प्रतिपक्षलाई तर्साउन खोजेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ललिता निवास जग्गा प्रकरणमा गठबन्धनका नेता जोगाउन रुमालले होइन गम्छाले पसिना पुछ्न परेको टिप्पणी पनि गरे।

उनले भने, ‘निकै चर्कोसँग ललिता निवासको फाइल खोलिन्छ भन्नुहुन्थ्यो । त्यो फाइल बन्द गराउन क्या गाह्रो पर्‍यो है । कस्तो गाह्रो पर्‍यो बन्द गर्न । मुद्दा बुझाउन नसक्ने । कसरी उम्काउने? कसरी ढाकछोप गर्ने? सत्ता गठबन्धन परेपछि कसरी जोगाउने भनेर पसिना आयो त्यतिबेला । रुमालले पुगेर गम्छा लिएर पुछ्नुपरेको थियो त्यसिबेला पसिना ।’

ओलीले सुन काण्डले पनि सरकारलाई हैरान पारेको टिप्पणी गरे । सुन प्रकरणमा सरकारको आफ्नो मान्छे राख्नका लागि आयोगमा चारजना राखेको उनको जिकिर छ ।