उपभोक्तामाथि ठगी गर्ने खालको कुनैपनि काम मबाट हुदैनः रमेश रिजाल

सोमबार, २२ असोज २०८०

काठमाडौं— उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्तामाथि ठगी गर्ने खालको कुनैपनि काम आफूबाट हुनै नसक्ने बताएका छन् ।

सोमबार संघीय संसद् प्रतिनिधि सभा अन्तगतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आफूले उपभोक्ताको नाममा बदमासी गरेको प्रमाणित भए तत्काल पदबाट राजीनामा दिने समेत बताए ।

मन्त्री रिजालले चाडपर्वका बेलामा पनि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको स्वीकार गर्दै आगामी दिनमा त्यसमा सुधार गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरे । उनले कालो बजारी गर्नेहरुलाई सोही अनुसारको दण्डसजायको व्यवस्था गर्न कानूनकै अभाव रहेको गुनासो समेत गरे ।

मन्त्री रिजालले उपभोक्ताहरुमाथि ठगी गर्नेहरुलाई गरिएको दण्डसजाय असुली गर्न सरकारसँग कुनै मेकानिजमनै नभएको पनि पटकपटक बताए ।

बैठकमा बोल्दै सत्तारुढ दलका सांसदहरुले नै चाडपर्वलाई ध्यानमा राखेर सरकारले आम उपभोक्तामा हित हुनेगरी आवश्यक व्यवस्था मिलाउन नसकेको गुनासो गरे । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले चिनी जस्ता चाडपर्वमा अतिआवश्यक बस्तुको समेत व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरे । उनले साल्ट ट्रेडिङ र खाद्य संस्थानले आफ्नो काम गर्न नसकेको भन्दै त्यसलाई खारेज गर्नुपर्ने अवस्था आएको पनि बताए ।

कांग्रेसकै अर्का सांसद अर्जुननरसिंह केसीले चाडपर्वका बेला बजार अनुगमन गरेपनि सरकारले जनताको चाहना अनुसार सस्तो मूल्यका वस्तुहरुको उपलब्धता गराउन नसकेको बताए । उनले मूल्यवृद्धि निरन्तरको प्रक्रिया जस्तो बन्दा पनि त्यसलाई नियन्त्रण गर्न सरकार लागि नपरेका गुनासो गरे ।

सांसद केसीले मुलुकमा वित्तिय अराजकताको शुरुवात भइरहेकोतर्फ पनि सरकारलाई सचेत गराए ।