रिगलविरुद्धको रिटको सुनुवाइ हेर्दाहेर्दैमा, भोलि निरन्तर सुनुवाइ हुने
काठमाडौं – राष्ट्रपतिबाट कैद मिनाहा पाएका रिगल भनिने योगराज ढकालविरुद्धको रिटमा सर्वोच्च अदालतमा जारी सुनुवाइ ‘हेर्दाहेर्दै’ मा राखिएको छ।
मंगलबार सुनुवाइ नसकिएकाले भोलि निरन्तर सुनुवाइ हुने गरी हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ।
ज्यान मुद्दामा जन्मकैद सजाय पाएका ढकाललाई राष्ट्रपतिद्वारा गरिएको कैद मिनाहाविरुद्धको रिट सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको थियो। सुनुवाइको सुरूमा आज सुरुमा निवेदकतर्फका कानुन व्यवसायीले बहस गरेका थिए।
रिटमा बहस गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले राष्ट्रपतिले राजनीतिक आग्रहका आधारमा जघन्य अपराधमा संलग्न व्यक्तिलाई कैद मिनाहा दिएको जिकिर गर्दै राष्ट्रपतिले संवैधानिक अधिकारको दुरुपयोग गरेको बताएका थिए।
उनले सत्तारूढ कांग्रेसको कार्यकर्ता भएको आधारमा रिगल एक्लैलाई मिनाहा दिएको नभई उनीजस्ता डेढ सयभन्दा बढी कर्तव्य ज्यान मुद्दाका कैदीलाई कानुनअनुसारको सुविधा प्रदान गरेको र त्यस क्रममा रिगलले पनि पाएको तर्क गरेका थिए।
सरकारी वकिल र रिगल पक्षका कानुन व्यवसायीको बहस नसकिएकाले बुधबार पनि निरन्तर सुनुवाइ गर्ने जानकारी इजलासले दिएको थियो। निवेदकको समेत जवाफी बहस सुनिसकेपछि इजलासले निर्णय दिनेछ।