संक्रमणकालीन न्यायसम्बन्धी विधेयक हिउँदे अधिवेशनबाट पारित गर्ने सहमति भएको छ: माओवादी

बिहिबार, १६ कार्तिक २०८०

काठमाडौँ – सत्तारुढ नेकपा माओवादी केन्द्रले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक हिउँदे अधिवेशनबाट पारित हुने बताएको छ।

बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन्। उनले शान्ति प्रक्रिया टुंगो लगाउने सहमति समितिमा भइसकेको र संसदबाट भने अर्को हिउँदे अधिवेशनबाट पारित गर्ने सहमति जुटेको बताए। उनले संक्रमणकालीन न्याय नटुंगिदा विश्वमाझ विभिन्न खाले प्रश्नहरु उठेको बताए। उनले विश्वमाझ उठेका विभिन्न प्रश्नलाई अन्त्य गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘शान्ति प्रक्रिया टुंगो लागेको छैन। यसलाई टुंगो लगाउनुपर्नेछ। यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रश्न खडा भएका छन्। पीडितहरुको परिपूरणका कुरा छन्। आदि कुरा रोकिएको छ। यसलाई हर हालतमा टुंगोमा पुर्याउनुपर्छ भन्ने सहमति भएको छ। एक खालको सहमति भएको छ। यो दिने, यो लिने भन्ने प्रसंग उठेको छैन। समितिमा टिआरसी बिलको बारेमा सहमति भइसकेको छ। अब यो फुल हाउसबाट हिउँदे अधिवेशनमा पारित गर्ने सहमति भएको छ।’

प्रवक्ता सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव अहिले नेपाल आउनु बहुआयामिक महत्वको विषय भएको बताए। उनले संयुक्त राष्ट्रसंघका महासचिव अहिले नेपाल आउनु र विश्व शान्तिको अपिल गर्नु महत्वपूर्ण भएको बताए।