विचौलियाहरुको कारण एमडीएमएस लागू गर्न समस्या आयोः पुरुषोत्तम खनाल

बुधबार, २२ कार्तिक २०८०

काठमाडौं— नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले विचौलियाहरुको कारण मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) लागू गर्न समस्या आएको ढिलाइ भएको बताएका छन् ।

प्राधिकरणले गत वर्ष नै मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम ९एमडिएमएस० लागू गर्ने भनेपनि रोकिएर सोमबारदेखि लागू गरेको छ । प्राधिकरणका अध्यक्ष खनालले मोबाइल कारोबार गर्ने विचौलियाहरुको कारण प्रणाली लागू गर्न ढिलाइ भएको बताए ।

‘नेपालमा वार्षिक रुपमा २० देखि २५ अर्बको मोबाइलहरु आयात हुन्छ । त्यसमा १० प्रतिशत अर्थात ३ अर्ब भन्दा बढी कालोबजारीहरुले कमाए । जसले वैधानिक रुपमा रोजगारी समेत दिएर मोबाइलको व्यापार गरेको छ । उसले सटर बन्द गरेर बस्नुपर्ने भयो’ उनले न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा भने, ‘जसले राज्यलाई राजश्व तिर्दैन ।

कालोबजारी गरेर ल्याउनेको व्यापार फस्टायो । यो हुन नदिन राज्यले प्राधिकरण र प्राधिकरणले राज्यसँग सहकार्य गरेर प्रणाली लागू गरेका छौं ।’

विचौलियाहरुले पैसा खर्च गरेर गलत सूचना प्रवाह गरेकाले एक वर्ष प्रणाली लागू हुन नसकेको अध्यक्ष खनालले बताए । प्राधिकरणले मोबाइलका प्रयोगकर्ताहरुलाई सुरक्षित मोबाइल प्रयोग गर्नसक्ने र हराएको बेला तत्काल बन्द गर्नसक्ने प्रणाली लागू गरेको उनले जानकारी दिए ।

ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन (जीएसएम)ले मोबाइल सेवाको प्रणाली एवं प्रविधिमा बनाएका मोबाइललाई उसको डाटाबेसमा राख्ने तर टोल वा एसएमआई गरेका मोबाइलहरुको रेकर्ड त्यसमा नराख्ने बताए । उनले प्रणालीका मोबाइल मात्रै नेपालमा खरिद गर्न पाउने व्यवस्था गर्न लागिएको पनि बताए ।

अध्यक्ष खनालले एमडीएमएस प्रणालीले अहिले मोबाइल कारोबारमा भइरहेको कालोबजारीलाई पनि नियन्त्रण गरी राजश्व प्रशासनलाई सहयोग गर्ने विश्वास लिएको बताए ।