नेपालमै उत्पादित फूल बिक्रीका लागि अवरोध गरिने छैनः मेयर बालेन
काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र(बालेन) शाहले पालमै उत्पादित फूल बिक्रीका लागि अवरोध नगरिने बताएका छन् । मेयर बालेनले नेपालमै उत्पादित फूल बिक्रीका लागि चार ठाउँ तोकेका छन्।
प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोरको प्राङ्गणमा फूल बिक्री ठाउँ तोकिएको महानगरले जनाएको छ। महानगरले नेपाल फ्लोरिकल्चर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्सको संयुक्त प्रयासमा फूल बिक्रीका लागि ठाउँ तोकेको हो।
‘नेपालमा आर्थिक मन्दी भइरहेका बेला नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल किन्दा नेपाली पैसा विदेश जान रोकिनेछ,’ बालेनले भने।
साथै महानगरले फूल बिक्रीका लागि आएका किसानहरूलाई महानगरको गाडीमा राखेर भृकुटीमण्डप लगेको छ।
तिहार लक्षित फूल र माला लिएर बेच्न आएका किसानहरु न्यूरोडसहित सहरका विभिन्न ठाउँमा थिए। उनीहरुलाई बिक्री स्थल थाहा नभएकोले सवारी साधनमा राखेर भृकुटीमण्डप लगिएको महानगरले जनाएको छ।
सवारी साधनमा फूल राख्न तथा झार्नका लागि नगर प्रहरी बलका जनशक्तिले सघाएका थिए। तोकिएका चार स्थानमा नेपालमै उत्पादित फूल मात्रै बिक्री गरिनेछ।
