रास्वपाको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा आज पनि जारी

मंगलबार, १२ मंसिर २०८०

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा मंगलबार पनि जारी रहने रास्वपाले जनाएको छ ।

आज बिहान ८ बजेदेखि ९ बजेसम्म केन्द्रीय समितिको बैठक बस्ने छ। ९ देखि १० बजेसम्म संसदीय दलको बैठक बस्ने कार्यतालिका तय गरिएको छ। समय केही तलमाथि हुन सक्ने पनि रास्वपाले जानकारी दिएको छ।

आजको बैठकमा संसदीय दल र पार्टीको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। संसदीय दलको प्रतिवेदन प्रमुख सचेतक सन्तोष परियारले प्रस्तुत गर्नेछन्। पार्टीको राजनीतिक प्रतिवेदन सभापति रवि लामिछानेले पेश गर्ने कार्यतालिका रहेको छ।

सभापति लामिछानेको प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने र त्यसपछि महाधिवेशन प्रक्रियाबारे छलफल हुने बताइएको छ।
आजै साँझ साँढे ६ बजे नीति विचार प्रतिनिधिमण्डलको छुट्टै बैठक पनि बस्ने छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसका जिल्लाहरूमा गतिविधि बढाइरहेको छ। त्यसका लागि केन्द्रीय समिति र सांसदहरू मधेसमै खटिएका थिए।

सोमबारबाट सुरू भएको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टीको दीर्घकालीन नीति तय गर्ने उपसभापति डोलप्रसाद (डिपी)अर्यालले जानकारी दिए।