शैक्षिक कर्जा मिलाइदिने भन्दै विद्यार्थीसँग लाखौं रकम असुल्दै फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सी

मंगलबार, १२ मंसिर २०८०

काठमाडौं – नेपाली विद्यार्थीका लागि शैक्षिक परामर्श दिन स्थापित फ्र्याङ्कलिन एजुकेशन एण्ड मार्केटिङ कन्सल्टेन्सीले विद्यार्थीसँग शैक्षिक कर्जा मिलाइदिने भन्दै लाखौं रकम असुल्ने गरेको पाइएको छ । फ्र्याङ्कलिनले विद्यार्थीको मुद्धती खातामा पैसा जम्मा गर्न लगाएर त्यसैको आधारमा शैक्षिक कर्जा मिलाइदिने भन्दै एउटा विद्यार्थीबाट २ लाख ५० हजार रकम असुल्ने गरेको पाइएको हो । विद्यार्थीले आफैले कर्जा स्वीकृत गर्ने हो भने पैसा लाग्दैन ।

अध्ययनका लागि बेलायत जान चाहने विद्यार्थीबाट फ्र्याङ्कलिनले बैंकबाट शैक्षिक कर्जा मिलाइदिने भन्दै मोटो रकम असुलेको छ । बेलायतको विपिपि विश्वविद्यालय र डि मोन्टफोर्ट विश्वविद्यालयमा भर्नाका लागि आवेदन दिएका केही विद्यार्थीको कास लेटर (अध्ययनका लागि स्वीकृति पत्र) नआएपछि यस्तो रहस्य खुलेको हो ।

पोखराका प्रेम पाण्डेले (नाम परिवर्तन) फ्र्याङ्कलिनबाट कास लेटर नआएपछि अर्को कन्सल्टेन्सीमा गएर एप्लाई गर्न खोजेका थिए । अर्को कन्सल्टेन्सीमा गएर एप्लाई गर्दा एजेन्सी परिवर्तन गर्नुपर्ने भयो । एजेन्सी परिवर्तन गर्दा कन्सल्टेन्सीका संचालक उमेश खड्काले प्रेमलाई २ लाख ५० हजार रुपैयाँ दिनुपर्ने बताए ।

‘हामीले एजेन्सी चेन्ज गर्न जाँदा कन्सल्टेन्सीले २ लाख ५० हजार रुपैयाँ दिएपछि मात्रै एजेन्सी परिवर्तन हुने भन्यो ।’, मोटिभेट न्यूज डटकमको सम्पर्कमा आएका विद्यार्थीका अभिभावकले भने, ‘हामीले के को पैसा हो र ? भनेर सोध्दा उसले बैंकबाट एजुकेशन लोन पास गर्दा लागेको खर्च हो भन्ने जवाफ दिए ।’, प्रेमले डि मोन्टफोर्ट विश्वविद्यालयमा अध्ययनका लागि आवेदन दिएका थिए । यो विश्वविद्यालयले मुद्धती खाता देखाएर बनाएको शैक्षिक कर्जालाई मान्यता दिँदैन ।

विद्यार्थीबाट कर्जा नलिएरै पैसा मागेको हुनसक्ने आशंका पनि उब्जिएको विद्यार्थीका अभिभावको बुझाई छ । ‘डि मोन्टफोर्ट विश्वविद्यालयले एफडिआई एगेनस्ट लोन लिदैन भन्ने उसलाई थाहा थियो । थाहा हुँदाहुँदै उसले किन एफडिआई एगेनस्ट लोन बनायो ?’, विद्यार्थीका अभिभावकले भने, ‘कि त यसले लोन नबनाएरै लोनको पैसा माग्यो, कि त यसले लोन सर्टिफिकेट नक्कली बनायो । यस्ता फटाहलाई किन कन्सल्टेन्सी चलाउन दिएको होला ।’

डि मोन्टफोर्ट विश्वविद्यालयको नेपालमा मार्केटिङ गरिरहेको अक्स्फोर्ड इन्टरनेशनलले मुद्धती खाता अनुसार बनाएको शैक्षिक कर्जा मान्य नहुने बताएको छ । अक्स्फोर्ड इन्टरनेशनलका रिजनल म्यानेजर राजु पौडेलले मुद्धती खाता अनुसार बनाएको शैक्षिक कर्जा कर्जै नभएकाले त्यसलाई स्वीकार्न नसकिने बताए । ‘मुद्धतीमा राखेर कर्जा लिने र कर्जा लिएको केही दिनपछि फिर्ता गर्न सकिने भएकाले बेलायतका धेरै विश्वविद्यालयले त्यस्तो कर्जालाई मान्यता दिदैनन् ।’, उनले भने, ‘हाम्रो गु्रप अन्तरगत कुनै पनि कलेज तथा विश्वविद्यालयले यस्तो कर्जालाई मान्यता दिएको छैन, दिँदा पनि दिँदैन । यदि कसैले यही कर्जाका आधारमा कास एप्लाई रहेको रहेछ भने उसको एजेन्सी रद्ध हुनसक्छ ।’

फ्र्याङ्कलिनले शैक्षिक परामर्श क्षेत्रका विचौलिया सुनिल रेग्मीसँग मिलेर मुद्धती खाता अनुसार शैक्षिक कर्जा बनाउने गरेको मोटिभेटले फेला पारेको छ । रेग्मीले प्रभु बैंकको कमलादी र शंखमुल शाखाबाट यस्तो खालको कर्जा स्वीकृत गराउने गरेका छन् । कसै–कसैले मिटरब्याजमा पैसा लिएर मुद्धतीमा राख्दै कर्जा लिने गरेकोसमेत पाइएको छ । यस विषयमा बुझ्दा कम्पनीका संचालक दीपक खड्का र उमेश खड्का सम्पर्कमा आउन चाहेनन् ।

भिसा लागेर बेलायत पुगेका धेरै विद्यार्थीहरूले पनि शैक्षिक कर्जाका नाममा पैसा लिएको गुनासो गरेका छन् । उनीहरूको भनाईसहितको विशेष सामाग्री अर्को अंकमा…

 

यो पनि पढ्नुहोस्

नक्कली अफरलेटर बनाउँछ काठमाडौंको फ्रयाङ्कलिन एजुकेशनल कन्सल्टेन्सी