गणतान्त्रिक व्यवस्थाको असली अभ्यास र प्रतिनिधित्व राष्ट्रियसभाले गरिरहेको छः महरा

शुक्रबार, १५ मंसिर २०८०

काठमाडौं— राष्ट्रियसभा सदस्य महेशकुमार महरा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको असली अभ्यास र प्रतिनिधित्व राष्ट्रियसभाले गरिरहेको ठान्छन् ।

अपाङ्गता भएका व्यक्तिको कोटाबाट माथिल्लो सदनमा आफ्नो ६ वर्षको अनुभव सुनाउदैं उनले राष्ट्रियसभा प्रतिनिधिसभाको छायाका रुपमा नभई अभिभावकको भूमिकामा सक्रिय रहँदै आएको बताए ।

महराले भने, “सङ्घीयता र समावेशिताको प्रतिनिधित्व, अभ्यास र अनुभव राष्ट्रियसभाले गरिरहेको छ ।” प्रतिनिधिसभाबाट आएका विधेयकमा चित्त नबुझेमा फिर्ता पठाइदिने अधिकार राष्ट्रियसभासँग भएको बताउँदै उनले सञ्चारमाध्यमले प्रबुद्ध समूहका कामकारबाहीलाई महत्व नदिँदा सभाका गतिविधि छायामा परेको प्रतिक्रिया दिए ।

सांसद महराले विकृति र विसङ्गतिको अन्त्य गरी सुशासन कायम गर्न राजनीतिक दलका शीर्ष नेतृत्वका साथै कर्मचारीतन्त्र इमान्दार हुनुपर्नेमा जोड दिए ।

डडेलधुराको आलितालमा स्थायी बसोबास रहेका महरा विद्यालय शिक्षा पूरा गरी विसं २०५४ मा काठमाडौँको रत्नराज्य कलेजमा उच्च शिक्षाका लागि भर्ना भएलगत्तै नेकपा (माओवादी)को भ्रातृ सङ्गठन अनेरास्ववियू क्रान्तिकारीको सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका हुन् ।