सञ्चार मन्त्री शर्माद्वारा रुकुमपश्चिमका पत्रकारलाई सहयोग हस्तान्तरण

आइतबार, १७ मंसिर २०८०

काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रुकुमपश्चिमका पत्रकारलाई सहयोग हस्तान्तरण गरेकी छन्।

जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिममा आयोजित कार्यक्रममा मन्त्री शर्माले नेपाल पत्रकार महासङ्घ रुकुमपश्चिमका अध्यक्ष लक्ष्मण केसीलाई सहयोग हस्तान्तरण गरेकी हुन्।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, नेपाल पत्रकार महासङ्घका केन्द्रिय अध्यक्ष बिपुल पोखरेल, उपाध्यक्ष उदय जीएमलगायतको उपस्थितिमा मन्त्री शर्माले ३० थान स्लिपिङ ब्याग र ३० थान ज्याकेट हस्तान्तरण गरेकी थिइन्।

भूकम्प प्रभावित र प्रभावितस्थलको रिपोर्टिङमा रहेका पत्रकारलाई सहयोग पुगोस् भनेर न्यानो कपडा हस्तान्तरण गरिएको मन्त्री शर्माले जानकारी दिइन्। मन्त्री शर्मा भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा छन्।

उनले शनिबार सल्यानमा पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन अभियान उद्घाटन गरेकी थिइन। आइतबार रुकुम र जाजरकोटका भूकम्प प्रभावितस्थल जाने कार्यक्रम रहेको मन्त्री शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए।