संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री खड्का घाना प्रस्थान

सोमबार, १८ मंसिर २०८०

काठमाडौं— संयुक्त राष्ट्र संघको आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का घाना प्रस्थान गरेका छन्।

संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यसपटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा यही डिसेम्बर ५ देखि ६ तारिखसम्म हुँदैछ। सम्मेलनमा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्कले नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको गर्नेछन्।

सम्मेलनमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान गर्ने सदस्य राष्ट्रका तर्फबाट संयुक्त राष्ट्र संघ शान्ति स्थापनालाई सहयोग पुर्‍याउन सक्ने विभिन्न नौ वटा क्षेत्रका प्रतिबद्धता प्रस्तुत गरिनुका साथै शान्ति स्थापनासम्बन्धी समस्या तथा चुनौती र तिनको समाधानबारे प्रस्तुति र छलफल हुनेछ।

उपप्रधानमन्त्री खड्काले नेपालका तर्फबाट सम्बोधन गर्नेछन् भने नेपाली टोलीका अन्य सदस्यले विभिन्न कार्यक्रममा भाग लिनेछन्।

सम्मेलनका अवसरमा उपप्रधानमन्त्री खड्कासँग संयुक्त राष्ट्र संघका उपमहासचिवहरु अतुल खारे, जिन पियरर ल्याक्क्रोइक्सले शिष्टाचार भेट गर्नेछन् भने अन्य मित्रराष्ट्रका रक्षा तथा सुरक्षा मन्त्रीहरुसँग भेटघाट तथा द्विपक्षीय सहयोगका विषयमा छलफल गर्ने कार्यक्रम छ ।

सम्मेलनमार्फत नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा पुर्‍याएको योगदानबारे चर्चा हुने र नेपालको छवी थप उच्च हुने अपेक्षा गरिएको छ।

नेपालका उपप्रधानमन्त्री स्तरको नेतृत्वमा हुने सहभागितालाई संयुक्त राष्ट्र संघले उच्च महत्व दिँदै सदस्य राष्ट्रहरुका तर्फबाट वक्ताका रुपमा सहभागी गराउने गरी कार्यक्रम तय भएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।