हजारौँ मालवाहक गाडी भारतमा अलपत्र, के नाकाबन्दीको संकेत हो यो ?

मंगलबार, २६ चैत्र २०७५

विराटनगर – २०७२ सालकै झल्को दिनेगरी पूर्वको प्रमुख नाका विराटनगरबाट नेपाल आउने मालबाहक ट्रकहरु अलपत्र परेका छन् । विराटनगरको रानी भन्सार कार्यालयदेखि जोगबनी हुँदै भारतको बथनाहासम्म एक हजार मालवाहक ट्रक र लहरीको जामले २०७२ सालमा भारतले लगाएको नाकाबन्दी सम्झाएको छ ।

सीमा नाकामा भएको जामका कारण आउजाउमा अवरोध हुनुका साथै नेपालतर्फ आउनु पर्ने मालवाहक गाडी कैयौं दिनदेखि जाममा फसेको बताइएको छ ।

ती मालवाहक गाडी नेपालतर्फ भन्सार जाँचपासको पालो पनि कुरेर बसेका हुन् । तर कहिले सीमा पुगिने हो भन्ने ठेगान छैन । मालवाहक गाडीको लाम नेपाल सीमादेखि भारतको बथनाहासम्म ६ किलोमिटर परसम्म पुगेको छ । नेपालतर्फ एकीकृत भन्सार बिन्दु (आईसीपी) सञ्चालनमा नआउँदा र नेपाल आई सामान खन्याएर खाली भएका फर्कनुपर्ने ट्रक तथा लहरीलाई भारतीय आईसीपीको बाटो भई जान छाडेसँगै सडकमा गाडीको जाम बढेको हो । भारततर्फ भने आईसीपी सञ्चालनमा आइसकेको छ ।

एक महिनायता खाली भएका मालवाहक ट्रक तथा खाली कन्टेनर बोकेका लहरी नेपालको आईसीपी हुँदै भारततर्फ जाने क्रम रोकिन पुगेको छ । भारतीय पक्षले मालवाहक गाडी आईसीपी भएर फर्कंदा दुई सय रुपैयाँ पार्किङ शुल्क दिनुपर्ने भन्दै नयाँ नियम लगाएसँगै मालवाहक गाडी आईसीपी रुट भएर जान छाडेका छन् ।

मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले भारतीय पक्षले पार्किङ शुल्क लिने भनेपछि उद्योगी–व्यवसायीले आईसीपीको बाटो नगई सोझै जोगबनी हुँदै पठाउन थालेको बताए । उनले भने, ‘‘त्यो शुल्क दिने नदिने भन्ने विषयमा नेपालतर्फ भन्सार कार्यालय र उद्योगी व्यवसायी बसेर छलफलपछि मात्र निर्णय लिनेछौं ।’’ उनले आफूहरुले बढीमा २० रुपैयाँसम्म पार्किङ शुल्क लिँदा हुने भन्ने प्रस्ताव राखेपनि छलफलले निष्कर्ष ननिकालिसकेको बताए । नेपाल आई सामान खन्याएर ७२ घन्टाभित्र भारत फर्कने मालवाहक सवारीले शुल्क तिर्नुपर्दैन ।

एकीकृत भन्सार जाँच बिन्दु र निर्माणाधीन मालवाहक रेल्वे आउने स्थलको निरीक्षण गर्न मंगलबार नेपाल तथा भारतका उच्चस्तरका अधिकारीहरु बथनाहासम्म पुगेका छन् । कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत एकनारायण अर्यालले सबै वस्तुस्थितिको निरीक्षणपछि नेपालतर्फ आईसीपी सञ्चालनका लागि नेपाल सरकारले पहल लिने बताए । उनले भने, ‘‘१५ जुनसम्म सबै निर्माण पूरा गरी नेपालतर्फको आईसीपी हस्तान्तरण गर्ने लक्ष्य छ ।’’ उनले सीमामा भएको गाडीको जामले व्यवसायीको खर्च बढाएको र त्यसको मार पनि नेपाली उपभोक्तालाई नै पर्ने भएकोले सरकारले यो समस्यालाई गम्भीर रुपमा लिएको बताए ।