अर्थतन्त्रमा सुधार देखिएनि जनतामा आशाको सञ्चार हुन सकेन: प्रधानमन्त्री

बिहिबार, २१ मंसिर २०८०

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारको अनुभूति भए पनि जनतामा आशाको सञ्चार हुन नसकेको बताएका छन् ।

बिहीबार काठमाडौंमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रचण्डले पछिल्लो समय अर्थतन्त्रका तथ्याङ्कहरू हेर्दा अर्थतन्त्रमा सुधार देखिए पनि जनतामा आशाको सञ्चार नदेखिएको टिप्पणी गरेका हुन् । सबैमा अर्थतन्त्र सुधारको आशा जगाउन सरकारले अझै मेहनत गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले केही नयाँ घोषणा गर्ने तयारीमा रहेको उनले जानकारी दिए । अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत् बैठक र केही नयाँ घोषणा गर्नैपर्ने देखिएको उनको भनाइ छ ।

‘तथ्याङ्कहरूमा हेर्दा अर्थतन्त्र सुधार हुँदै गएको देखिन्छ । तर, व्यवहार र आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति हामी सबैको अगाडि विद्यमान छ, ‘उनले भने, ‘अर्थतन्त्रमा केन्द्रित रहेर बृहत् बैठक र केही नयाँ घोषणा गर्ने तयारी भइरहेको जानकारी दिन चाहन्छु ।’

शासकीय सुधार गरी अर्थतन्त्रमा समेत सुधार ल्याउनु अहिलेको अवश्यकता रहेको प्रचण्डले बताए । व्यवसाय र राजनीतिको क्षेत्रमा जिम्मेवारी बोधको अनुभूति गराउन आवश्यक रहेको उनको भनाइ छ । ‘हामीसँग भएका सकारात्मक सम्भावनातिर हेरेर आशा जगाउनेतिर हामी सबै लाग्यौँ भने नेपालमा प्रचुर सम्भावना छ । जहाँबाट नेपालले विकासको यात्रा तीव्र गतिमा अगाडि बढाउन सक्छौँ,’ उनले भने ।

अहिले समाजमा हरेक कुरामा नकारात्मकता बनाउने प्रयास भइरहेको भन्दै यसबाट देशले कहिल्यै प्रगति गर्न नसक्ने उनको टिप्पणी छ । अर्थतन्त्र सुधार हुने आशा जगाउनु चुनौतिपूर्ण भएको उनले बताए । मुलुकको अर्थतन्त्रका सकारात्मक सम्भावनातिर हेरेर आशा जगाउन सके नेपालमा प्रचुर सम्भावना रहेको प्रचण्डले बताए ।