अदालतको फैसलाको सम्मानस्वरुप बाजागाजासहित काठमाडौंमा धन्यवाद र्याली
काठमाडौँ – रुकुम पश्चिमको सोती गाउँमा हत्या गरिएका नवराज विकको पक्षमा अदालतले गरेको फैसलाको सम्मानमा उनको परिवारले काठमाडौंमा धन्यवाद र्याली निकालेको छ ।
सिँगै गाउँले मिलेर निर्ममतापूर्वक हत्या गरिएको नवराजले न्याय पाएको जनाउँदै राष्ट्रिय दलित आयोगको समन्वयमा परिवारले र्याली गरेका हुन् । अदालत र आफूहरुलाई न्याय दिलाउन सहयोग गर्ने सबै व्यक्ति तथा निकायलाई धन्यवाद दिन र्याली गरेको उनीहरुले बताएका छन् ।
आज अपरान्ह भृकुटीमण्डपबाट बाजागाजासहित निकालिएको र्याली राष्ट्रिय सभागृह मोड, भद्रकाली, सुन्धारा, वीर हस्पिटल हुँदै शान्तीबाटिका पुगि कोणसभामा परिणत गरिएको दलित आयोगले जनाएको छ ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेतृत्व गरेको र्यालीमा राष्ट्रिय सरोकार नागरिक अभियानका अध्यक्ष जित गौतम, दलितका लागि दलित अभियन्ता खगेन्द्र सुनुवार, दलित अभियन्ता मित्र परियार, मृतक नवराजका पिता मुनलाल विकलगायत सयौँको संख्यामा सहभागी थिए ।