अर्थतन्त्रको विकासका लागि सूचना प्रविधि महत्वपूर्ण आधार हो: रेखा शर्मा

शुक्रबार, ६ पौस २०८०

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अर्थतन्त्रको विकासका लागि सूचना प्रविधि महत्वपूर्ण आधार भएको बताएकी छिन्।

लिभिङ विथ आइसिटीले आयोजना गरेको आइसिटी अवार्डको आठौँ सस्करणलाई सबोधन गर्दै मन्त्री शर्माले अर्थतन्त्रको विकासका लागि सूचना प्रविधि महत्वपूर्ण आधार भएको बताएकी हुन्। उनले नेपालको आर्थिक रुपान्तरणका लागि डिजिटल रुपान्तरण र डिजिटल इकोसिष्टम निर्माण आवश्यक रहेको पनि बताएकी छन्।

सरकारले सूचना तथा सञ्चार प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रुपमा लिएको उनले बताइन्।

हामीले अन्य उद्योगधन्दा खोल्यौँ भने आजको आजै विश्वसँग प्रतिष्पर्धा गर्न सक्दैनौं तर सूचना तथा सञ्चार प्रविधिमा आधारित सेवा निर्यात गरेर हामीले विश्वसँग प्रतिष्पर्धा गर्न सक्छौँ भन्ने विगत केही वर्षयताका अनुभवबाट पुष्टि भइसकेको छ। यसलाई अझै बढाउँदै सूचना प्रविधिलाई डिजिटल अर्थतन्त्र निर्माणको महत्वपूर्ण आधारको रुपमा स्थापित गर्न अब सामान्य सुधारले होइन यस क्षेत्रमा डिपार्चर नै गर्नुपर्छ भन्ने सरकारको मान्यता छ’ ‘उनले भनिन्।

यही वर्ष पहिलोपटक साइबर सुरक्षा नीति २०८० पारित गरेर त्यसलाई कार्यान्वयन गर्न साइबर कानुन निर्माण र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको पहल अघि बढाएको उनले बताइन्।

सूचना प्रविधि, दूरसञ्चार, सामाजिक सञ्जालको व्यवस्थापनलगायतका अन्य कानुन पनि जतिसक्दो चाँडो निर्माण गरेर आफूहरु सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा डिपार्चर गर्ने पक्षमा रहेको मन्त्री शर्माले जानकारी दिइन्।

डिजिटल नेपाल फ्रेमवर्क २०७६ सालमा स्वीकृत भएर पनि यसले आशातित गति लिन नसकेकाले यसमा पुनरावलोकन गरेर भए पनि अघि बढ्नपर्छ भनेर सोही अनउसार पहल थालेको पनि उनले बताइन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल पूर्वाधारको क्षेत्रमा गम्भीरताका साथ काम अघि बढाएको जानकारी दिदै मन्त्री शर्माले यसरी नै यसका अन्य पहलहरु कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र सहरी पूर्वाधारलाई पनि सम्बन्धित निकायले अघि बढाउन सके डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनले गति लिने बताइन्।