राजेन्द्र महतोलाई कारबाही गर्ने तयारीमा लोसपा

बिहिबार, १२ पौस २०८०

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई अनुशासनको कारबाही गर्ने भएको छ । वरिष्ठ नेता महतोले केही दिनदेखि पार्टीेको हितविपरीत गतिविधि गरिरहेको भन्दै उनलाई अनुशासनको कारबाही गर्ने तयारी भइरहेको छ ।

पार्टीका महासचिव डा.सुरेन्द्र झाले भने, ‘महतोज्यू पार्टीको दोस्रो मुख्य व्यक्ति हुनुहुुन्छ, र पार्टीकै विरुद्धमा बोल्दै हिँड्नु भएको छ । यो पार्टीको अनुशासन विपरीत कार्य हो । यसमा उहाँलाई कारबाही हुनसक्छ ।’

नेता महतोले पछिल्लो समय पार्टीको हित विपरीत गर्दै आएका गतिविधिको बारेमा पार्टीले अध्ययन गरिरहेको महासचिव झाको भनाइ छ । महतोले बोलेका विषयमा विश्लेषण भइरहेको पनि उनले बताए ।

महासचिव झाका अनुसार महतोले पार्टी र पार्टीका अध्यक्ष महन्थ ठाकुरको बारेमा स्तरहीन अभिव्यक्तिहरु दिइरहेकाले पार्टीमा छलफल गरेर उनलाई कारबाही गर्न सकिने बताए ।

उनले भने, ‘पार्टीमा कुनै विषयमा असहमति छ भने पार्टीभित्रै छलफलको माध्यमबाट समाधान गर्न सकिन्छ तर ती सबै छाडेर पार्टीका आन्तरिक विषयहरुमा उहाँले बाहिर जथाभावी बोल्दै हिँड्नुभएको छ ।’

पार्टीका अध्यक्ष ठाकुरले सार्वजनिक गरेको केन्द्रीय समितिको नामावलीमा नेता महतोलाई चित्त बुझेको छैन । उनले आफ्ना थुप्रै मान्छे छुटेको भन्दै उनीहरुलाई समावेश गर्न माग गरेका छन् ।