गौशाला २६ को तस्वीर सार्वजनिक गर्ने एक जना पक्राउ

बुधबार, ३ माघ २०८०

काठमाडौं – गौशाला २६ को तस्वीर सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमध्ये एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीया केशरमान राई रहेको प्रहरीको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले बताए । अर्यालका अनुसार, राईलाई पक्राउ गरेर विद्युतीय अपराध ऐन अनुसारको कसूरमा अनुसन्धान गर्न ७ दिन म्याद थपसमेत भएको छ ।

पीडित गौशाला २६ को भन्दै तस्वीर राख्ने अन्यको समेत खोजी भइरहेको बताइएको छ । यसअघि यो विषयमा अनुसन्धान गरिदिन भन्दै ब्यूरोलाई पीडित गौशाला २६ ले उजुरी दिएकी थिइन् ।

जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई अघिल्लो साता बुधबार ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो । त्यसपछि लामिछानेका समर्थकहरुले पीडित गौशाला २६ भन्दै विभिन्न तस्वीर र व्यक्तिगत विवरणहरु सार्वजनिक गराएका थिए ।