एमालेको लज्जास्पद हारपछि माओवादी बन्यो संसदको पहिलो दल

बिहिबार, ११ माघ २०८०

काठमाडौं – राष्ट्रिय सभा निर्वाचनमा एमालेको लज्जास्पद हारपछि नेकपा माओवादी केन्द्र संसदको पहिलो दल बनेको छ । बिहीबार सम्पन्न निर्वाचनको परिणाम पछि फागुन २१ गतेबाट सरकारको नेतृत्वको गरेको माओवादी राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बन्न पुगेको हो ।

फागुन २१ मा पदावधि सकिने मनोनीत बाहेक १९ सांसदका लागि भएको निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) रहेको सत्ता गठबन्धनका १८ उम्मेदवार निर्वाचित भएका छन् । कोसी प्रदेशमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी चम्पा कार्की एमाले उम्मेदवार रुक्मिणी कोइरालासँग पराजित भएपनि माओवादी राष्ट्रिय सभाको पहिलो दल बनेको हो ।

यसअघि पहिलो दल बनेको एमाले तेश्रो दलमा खुम्चिएको छ । बिहीबारको निर्वाचनबाट माओवादी केन्द्र ५, काँग्रेसका १०, नेकपा एकीकृत मसाजवादीका २ र जनता समाजवादी पार्टीका १ जना निर्वाचित भएका छन् । राष्ट्रियसभामा माओवादीका हाल उपाध्यक्षसहित १६ सांसद छन्। आगामी फागुन २१ मा ३ जनाको पदावधि सकिने भए पनि निर्वाचनबाट ५ जना निर्वाचित हुँदा राष्ट्रिय सभामा माओवादीका १८ सांसद पुग्छ।

काँग्रेस हाल राष्ट्रिय सभामा १० सांसदसहित तेस्रो स्थानमा छ । यो निर्वाचनपछि फागुन २१बाट काँग्रेसका ४ जनाको पदावधि सकिएर घर फर्किँदा निर्वाचनबाट १० थपिँदा १६ जना पुगेसँगै अब दोस्रो स्थानमा पुग्ने छ। निर्वाचनमार्फत २ सिट जितेको एकीकृत समाजवादीको राष्ट्रिय सभामा उपस्थिति संख्या ८ नै कायम हुने छ।

राष्ट्रिय सभामा पाँचौँ दलको हैसियतमा रहेको जसपाका तीन सांसद छन्। १९ सिटको मत परिणामले राष्ट्रियसभाको पहिलो दल एमालेलाई तेस्रो स्थानमा खुम्च्याइदिएको छ। कोसी प्रदेशमा महिलातर्फ अनपेक्षित जित हात पारेको एमालेले आगामी फागुन २१ पछि १० जनामा सीमित हुनेछ । अहिले राष्ट्रिय सभा अध्यक्षसहित एमालेका सांसदको संख्या १८ छ।

निर्वाचनमा कोसी प्रदेशको महिला क्लस्टरमा गठबन्धनका चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी हुन्। पुरुषतर्फ काँग्रेसका कृष्णप्रसाद सिटौला निर्वाचित भए। मधेस प्रदेशको दुई पदमा भएको निर्वाचन अन्तर्गत अन्य क्लस्टरमा काँग्रेसका आनन्द ढुङ्गाना र महिलातर्फ जसपाका पूजा चौधरी निर्वाचित भए। बागमती प्रदेशमा पनि गठबन्धनका चारै जना विजयी भएका छन्। यो प्रदेशमा महिलातर्फ काँग्रेसका विष्णुदेवी पुडासैनी, काँग्रेसका उम्मेदवार जीतजंग बस्नेत, माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी निर्वाचित भए । गण्डकी प्रदेशमा भएको ३ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भए। यस प्रदेशमा काँग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता र अल्पसंख्यकतर्फ पदमबहादुर परियार र माओवादीबाट मनरुपा शर्मा निर्वाचित भइन्।

लुम्बिनीको दुई पदमा भएको निर्वाचनमा महिलातर्फ काँग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भइन्। कर्णालीमा पनि सत्तारुढ गठबन्धनबाट काँग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा एकीकृत समाजवादीका सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णु विक विकल्प निर्वाचित भए। सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन्। माओवादीकी रेनु चन्द, अपाङ्ग तर्फ काँग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए।