समाचार खण्डन गर्दै युरो ग्लोबले भन्यो, ‘समाचार डिलिट गर्नुहोस्’

मंगलबार, १६ माघ २०८०

काठमाडौं – क्यानडा पठाइदिन्छु भन्दै विद्यार्थी ठग्ने युरो ग्लोब एजुकेशन कन्सल्टेन्सी तथा करिअर्स डेभलपमेन्टले मोटिभेट न्यूजमा प्रकाशित समाचार हटाउने अनुरोध गर्दै खण्डन पठाएको छ । ‘क्यानडा पठाउने भन्दै, विद्यार्थी ठग्दै’ युरो ग्लोब कन्सल्टेन्सीका ‘राम शाह’ शिर्षकको समाचार हटाउन अनुरोध गर्दै युरो ग्लोबल खण्डन पठाएको हो ।

युरो ग्लोबका संचालक राम शाहले मंगलबार बेलुका इमेलमार्फत खण्डन पठाउँदै समाचार हटाउन अनुरोधसमेत गरेका छन् । शाहले क्यानडामा दर्ता पनि नभएको कलेजमा अध्ययनका लागि पठाउने भन्दै विद्यार्थीबाट रकम उठाएर ठगेका थिए । विद्यार्थीले बारम्बार पैसा फिर्ता माग्दा पनि नदिएपछि विद्यार्थीहरु मोटिभेट न्यूजको सम्पर्कमा आएका थिए । मोटिभेटले माघ ७ गते आइतबार प्रमाणसहितको समाचार प्रकाशन गरेको थियो ।

खण्डनमा उनले उक्त समाचार नबुझी प्रकाशन गरेको आरोप लगाएका छन् । ‘…सो सम्बन्धमा यर्याथ सत्य तथ्य नबुझी केवल गुनासो कर्ताको कुरालाई एकतर्फी बुझी उक्त समाचार सम्प्रेषण भएकोमा म निवेदकको इज्जतमा गम्भीर आघात भई कम्पनीको व्यापार व्यवसायमा समेत हानी नोक्सानी क्षती पुग्न गएको छ ।’, मोटिभेटलाई पठाएको खण्डनमा भनिएको छ, ‘यसर्थ सत्य तथ्य बुझी समाचार प्रकाशन गर्नु पर्नेमा सो नगरी अतिरन्जित, भ्रामक समाचार प्रकाशित गरेको हुदाँ सो समाचार खण्डन गरी आफ्नो पेज बाट हटाई सहयोग गर्नु हुन अनुरोध गर्दछु ।’

उनले खण्डनमा जे भनेपनि मोटिभेटले उनीसँग पनि निरन्तर संवाद गरेर समाचार सम्प्रेषण गरेको थियो । उनका योसँगै अन्य ठगी, करछली र तस्करीका सूचनाहरु मोटिभेट न्यूजलाई प्राप्त भएका छन् । पीडितको गुनासो सम्बोधन नभएसम्म मोटिभेटले निरन्तर फ्लोपमा रहने जनाएको छ ।