प्रयास नै पहिलो सफलता हो

शनिबार, २० माघ २०८०

काठमाडौं – एकदेशको कथा हो । गुरुको कठोर र संयमित दिनचर्याबाट प्रभावित भएर एउटा शिष्यले उनको अनुसरण गर्ने निश्चय गर्यो । उसले नरम ओछ्यानमा होइन, परालमा सुत्न सुरु गर्छ । यसरी कठोर दिनचर्याका केही दिन बित्छन् । गुरुले शिष्यको व्यवहारमा केही परिवर्तन देख्छन् ।

गुरुले शिष्यलाई सोध्छन्, ‘तिमी के गर्दै छौ ?’ शिष्य भन्छन्, ‘म छिटोभन्दा छिटो दीक्षित हुन कठोर तपस्याको अभ्यास गरिरहेको छु ।’ उनी मेरो वस्त्रले शुद्ध ज्ञानको खोजलाई दर्साउँछ, शाकाहारी भोजनले मेरो शरीरमा सात्विकता वृद्धि गर्छ अनि सुख सुविधाबाट पर रहँदा आध्यात्मिक पथमा अग्रसर भइरहेको छु भनेर गुरुलाई भन्छन् ।

उनको कुरा सुनेर गुरु मुस्कुराए । उनले शिष्यलाई खेतमा लिएर गए, जहाँ एउटा सेतो घोडा घाँस चरिरहेको थियो । त्यसलाई देखाउँदै उनले भने, ‘तिमीले खेतमा घाँस चर्दै गरेको त्यो घोडालाई देख्यौ । त्यसको छाला सेतो छ । यसले केवल घाँस खान्छ र तबेलामा पत्करमा सुत्छ । के तिमी यो घोडामा थोरै पनि साधुपन देख्छौ ? के तिमीलाई एकदिन यो घोडा समर्थ गुरु हुनेछ जस्तो लाग्छ ? बाहिरी आवरणले कोही पनि साधु वा ज्ञानी बन्न सक्दैन । देखासिखीले कोही पनि सफल हुन सक्दैन । यसका लागि मिहिनेत र कोसिस गर्नु आवश्यक हुन्छ । यदि तिमी कुनै कार्यमा सफल हुन चाहन्छौ भने तिमीले हरसम्भव प्रयास गर्नुपर्छ ।’

शिष्यले कुरा बुझ्यो । संघर्ष नै सफलताको कुञ्जी हो । अर्थात संघर्ष नै सफलताको अर्को नाममा हो । प्रयास नै सफलता हो । आफ्नो मार्गमा आउने हरसमस्याको डटेर सामना गर्नुपर्छ । तब मात्रै हामी आफ्नो जीवनमा सफल हुन सक्छौँ ।