कांग्रेससँगको गठबन्धन लाभदायक भएन: प्रचण्ड

सोमबार, २९ माघ २०८०

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् ।

पार्टीले सञ्चालन गरेको चार महिने अभियानका सम्बन्धमा प्रदेश इन्चार्जहरूले पेश गरेको रिपोर्टमाथि सोमबारको बैठकमा संश्लेषणसहितको आफ्नो धारणा राख्दै प्रचण्डले मुलभूत रूपमा अभियान सफल भएको बताए । यस्तै उनले आगामी दिनमा पनि यस्ता खालका अभियानलाई निरन्तरता दिने जानकारी गराए ।

सो क्रममा प्रचण्डले आफू नेतृत्वको सरकारले गरेको काम कारबाहीका साथसाथै वर्तमान सत्ता गठबन्धनको विषयमा समेत धारणा राखेका छन् ।

सम्बोधनका क्रममा प्रचण्डले कांग्रेससँगको गठबन्धन लाभदायक बन्न नसकेको ब्रिफिङ गरेको बैठक स्रोतले जानकारी दियो । उनले कोशीमा कांग्रेसबाट भएको अन्तर्घातका साथै विभिन्न घटनाक्रहरु हेर्दा गठबन्धन लाभदायक बन्न नसकेको बताएका हुन् ।

‘कांग्रेससँगको हाम्रो सहकार्य राजनीतिक दृष्टिकोणले त एउटा आवश्यकता हो । तर, हाम्रो पार्टीको समग्र विकासको दृष्टिकोणले त्यो लाभदायक भएको देखिएन’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । यद्यपि उनले अर्को गठबन्धन बनाउने आधार भने तय भइनसकेको बैठकलाई बताएका थिए ।