विश्वासको संकट

बिहिबार, १० फाल्गुन २०८०

काठमाडौं – एउटा चरा रुखको हाँगामा बसिरहेको थियो । अचानक उसको गोडा चिप्लियो । तर, चराले हतारमा हाँगामा समाउन भ्याएकाले भुइँमा खस्न पाएन । तर, हाँगामा झुन्डिएको अवस्थामा चरालाई आफू खस्नुको कुनै विकल्प नरहेको सोचले सताउन लाग्यो । यो सोच आएपछि उसलाई बेस्कन डर लाग्यो । चरामा मरिन्छ भन्ने सोच आएपछि ऊ सहयोगका लागि रुन–कराउन थाल्यो ।

चरामा जति–जति डर बढ्दै जान्थ्यो, ऊ त्यति नै दह्रोे गरी रुखको हाँगालाई समाउँथ्यो र झन् ठूलो स्वरमा सहयोग माग्थ्यो । केही समयपछि अर्को एउटा चरा उडेर त्यही हाँगामा वास बस्न आइपुग्यो । तर, नयाँ चरा झुन्डिएको चरालाई देखेर सहयोग गर्नुको साटो मरीमरी हाँस्न थाल्यो ।

ऊ हाँसेको देखेर हाँगामा झुन्डिरहेको चराले अचम्म र दया मागेको भावमा भन्न थाल्यो, ‘म यहाँ यस्तो अप्ठ्यारोमा परेको छु, तिमी भने मेरो मजाक उडाइरहेका छौ । तिमीलाई मेरो अवस्था देखेर दया लागेन ?’ यो सुनेर नयाँ चराले भन्यो, ‘तिमीलाई त्यहाँ कसले समातेर राखेको छ ? हाँगालाई त तिमीले समाइरहेका छौ ।

त्यसरी त्यो हाँगालाई समात्न छोड त, समस्या आफैँ समाधान हुन्छ । तिमीले आफूसँग पँखेटा छ भन्ने पनि बिर्सियौ कि ? तिनमाथिको विश्वास गुमायौ ? आफ्नो पखेटामाथि विश्वास गर र हाँगालाई समात्न छोडिदेऊ, तिमी उड्न सक्छौ ।’ यति सुन्नेबित्तिकै उसलाई आफ्नो पखेटाको होस आयो र हाँगालाई समात्न छाडेर उड्यो ।

पछि उसलाई आफ्नो मूर्खता सम्झेर आफैँलाई हाँसो उठ्यो । चराले जस्तै हामी मानिसले पनि आफूसँग भएको क्षमतामा ध्यान दिन सकेनौँ भने आफूले सक्ने काम पनि गर्न सक्दैनौँ ।