हस्पिटलमै फोन गरेर प्रचण्डले महरालाई भने, ‘निलम्बन गर्दिम कि राजीनामा दिने हो’

मंगलबार, ६ चैत्र २०८०

काठमाडौँ – सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष प्रचण्डले फोन गरेका छन् । प्रहरी नियन्त्रणमै रहे पनि हाल नर्भिक अस्पतालमा रहेका महरालाई प्रचण्डले मङ्गलवार फोन गरेका हुन् ।

माओवादी केन्द्रको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठककै बिचमा प्रचण्डले महरालाई फोन गरेका हुन् । सो क्रममा प्रचण्डले प्रश्न उठिसकेकाले अब के गरौँ भनेर महरालाई सोधेका थिए ।

‘प्रधानमन्त्रीज्यूले महरालाई फोन गरेर आफै राजीनामा दिनुहुन्छ कि निलम्बन गरौँ भनेर सोध्नुभयो’, बैठकका सहभागी एक पदाधिकारीले भने, ‘यस विषयमा एक घण्टामा महराले जानकारी दिने बताउनु भएको छ ।’ महराको जवाफ आएपछि थप कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको ती पदाधिकारीको भनाइ छ ।