देउवाको आडमा ओली- प्रचण्डलाई डसेको डसै माधव नेपाल, फेरि दिए उथलपुथल गर्ने चेतावनी

शनिबार, ८ बैशाख २०८१

काठमाडौँ – नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफुहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गर्यो भने देशमा फेरी अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिएका छन् ।

आफु देशका ठूला हस्ती राजा विरेन्द्र देखी ज्ञानेन्द्र, गणेशमान देखी कृष्णप्रसाद भट्टराई, गिरजाप्रसाद कोइरालादेखी प्रचण्ड सम्मलाई सामना गरेर आएको नेता भएकोले आफु र आफ्ना पार्टीलाई कसैले कमजोर नठान्न नेता नेपालको चेतावनी दिएका हुन ।

गृह जिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि स्थित लालबकैया नदिमा नवनिर्मित मधेश प्रदेश कै सबभन्दा दोश्रो लामो झोलुङ्गे पुलको शुक्रवार उद्घाटन गर्दै अध्यक्ष माधव नेपालले यस्तो बताएका हुन् । झोलुङ्गे पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एसका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री नेपालले आफुहरुको आफनै स्वाभिमान, पहिचान, मुल्यमान्याता र महत्व रहेकोले हल्कामा नलिन सुझाव दिए ।

वर्तमान चार दलिय सत्ता गठबन्धनलाई लक्षित गर्दै उनले भने, ‘हामी कसैको दास होइनौ र कसैको इशारामा चल्ने व्यक्ति पनि होइनौ, त्यसैले यदि हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता गर्यो भने उसलाई ठुलो मूल्य चुकाउनुपर्छ ।’ नेता नेपालले अघि थपे, ‘हाम्रो आफ्नै स्वाभिमान र महत्व छ, त्यसैले यो कुरा बुझयो भने ठिक छ नत्र सबै उलटिन्छ र देशमा अर्को उथलपुथल हुन्छ ।’

नेकपा एसले सात प्रदेश मध्ये एउटा सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री पाएको बताउँदै उनले भने, ‘त्यहाँ आफना पार्टीका चार जना प्रदेश सांसद छन र ति चारै जना सरकार निर्माणका लागि निर्णायक छन, हाम्रा प्रदेश सांसदहरु जता जान्छन उतै सरकार बन्छ, अनि सरकार छाडयो भने ढल्छ, ।’ रौतहटमा विगतमा आफुले शिलान्यास गरेका सबै योजनाहरुको काम चाडै द्रुत गतिमा अगाडि बढ्ने नेता नेपालले विश्वास दिलाएका छन् ।