कतारका राजालाई उपहार दिने दुई हात्तीलाई यसरी लगिदै छ कतार
काठमाडौं – नेपालले कतारका राजालाई दुई वटा हात्ती उपहार स्वरुप उपलब्ध गराउँदै छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणका अवसर पारेर नेपालले उक्त उपहार घोषणा गर्नेछ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिरबीच द्विपक्षीय वार्ता भएपछि नेपालले दुई वटा हात्ती कतारलाई उपहारस्वरुप दिने घोषणा हुनेछ । “कतारको दोहा चिडियाखानाले नेपालसँग पहिलेदेखि नै हात्ती मागेको थियो । हात्ती दिन केही महिनाअघि नै समझदारी भएको हो । नेपालले दिने हात्ती दोहा चिडियाखानामा राखिनेछ।
हात्ती खतराको सूचीमा भएको प्रजातिभित्र पर्ने भएकाले यसको लामो प्रक्रिया पूरा गर्नुपर्छ । ‘साइटिस अथोरिटी’ले तोकेअनुसार गर्नुपर्छ । “दुई देशका ‘साइटिस अथोरिटी’ प्राप्त निकायबीच लिने र दिने सहमति भएपछि मात्र हात्ती सम्बन्धित देशमा पठाउन सकिन्छ। नेपालको यस्तो निकाय भनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग हो । लोपोन्मुख जंगली जीवजन्तु र वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धी (साइटिस) सरकारबीचको अन्तर्राष्ट्रिय सम्झौता हो ।
साइटिसको उदेश्य वन्यजन्तु बोटविरुवाहरूको नमुनाहरूको अन्तर्राष्ट्रिय व्यापारले प्रजातिको अस्तित्वलाई खतरामा नपार्ने कुरा सुनिश्चित गर्नु रहेको छ । “नेपाल र कतारका साइटिस अथोरिटीबीच सहमतिपत्रमा हस्ताक्षर हुन बाँकी छ । चितवन राष्ट्रिय निकुञ्जले ती हात्ती उपलब्ध गराउने छ । अहिले ती दुई हात्ती चितवन राष्ट्रिय निकुञ्जमा छन् । “कतारलाई दिने पहिचान गरिएको दुई हात्ती– रुद्रकली र खगेन्द्रप्रसाद हुन् । रुद्रकली फिमेल र खगेन्द्रप्रसाद मेल हो।
कतारको लागि हात्ती नयाँ प्रजाति हो । यसैकारण कतारको दोहा जुमा हात्ती बाँच्न सक्छ कि सक्दैन, त्यहाँको वातावरण कस्तो छ भन्ने अध्ययन गत मंसिरमा नेपालबाट गएको एक टोलीले गरेर फर्किसकेको छ। कतारलाई हात्ती दिने औपचारिक घोषणा बुधबार गरिने भनिए पनि ती हात्ती कतार पुग्नलाई भने केही समय लाग्नेछ । यो समय प्रक्रिया पूरा गर्न लाग्ने हो । दुई देशका साइटिस अधिकारीबीच सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएपछि रुद्रकली र खगेन्द्रप्रसादलाई चितवन राष्ट्रिय निकुञ्जबाट काठमाडौं ल्याइने छ । दुवै हात्ती पाँचरपाँच वर्षका हुन् ।
“लामो लरीमा ठूलो कन्टेनरभित्र राखेर हात्तीलाई चितवनबाट काठमाडौं ल्याइन्छ यस्ता कन्टेनर जनावर सहज तरिकाले बस्न र सास फेर्न मिल्ने खालको हुनुपर्छ । काठमाडौं ल्याएपछि रुद्रकली र खगेन्द्रप्रसादलाई ठूलो विमानमा राखी कतार पठाउने हालको योजना छ । विमानभित्र रुद्रकली र खगेन्द्रप्रसादलाई छुट्टाछुट्टै कन्टेनरमा राखिनेछ । कतार पुगेपछि मात्र ती कन्टेनरबाट रुद्रकली र खगेन्द्रप्रसादलाई बाहिर निकालिने छ । कुनै कारणवश विमानमा लैजान नमिलेमा हात्तीलाई कन्टेनरमा राखी भारतको मुम्बई लगि त्यहाँबाट पानी जहाजमा राखेर कतार पुर्याइनेछ । “सबै प्रक्रिया पूरा गरेर दुई हात्ती कतार पुर्याउन छिटोमा एकदेखि दुई महिनाको अवधि लाग्नसक्ने वन तथा वातावाराना मन्त्रालयका प्रवक्ता ढुंगानाको भनाइ छ ।