वाईवाई चाउचाउमा भेटियो क्यान्सर रोग लाग्ने विषादी
काठमाडौं – काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपले उत्पादन गर्दै आएको वाईवाई चाउचाउमा खानै नहुने विषादी तेल प्रयोग भएको प्रष्ट पारेको छ । पछिल्लो समय चाउचाउ उत्पादक कम्पनी चौधरी ग्रुपले आफुले उत्पादन गर्ने वाईवाई चाउचाउ विश्वस्तरीय गुणस्तर भएको बताउँदै महानगरले हचुवाको भरमा अखाद्य वस्तु भेटिएको भनेर प्रचारप्रसार गरेपछि महानगरले वाईवाई चाउचारमा क्यान्सर रोग लाग्ने विषादी भेटिएको प्रष्ट पारेको छ ।
‘हामीले प्रोपोगाण्डा वा हचुवाको भरमा नभई बजारबाट वाईवाई चाउचाउको स्पाम्पल ल्याएर ल्याब परीक्षण गरेपछि जे रिपोर्ट आयो त्यही रिपोर्टको आधारमा कारबाही गरेका हौं,’ काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘यदि उनीहरुलाई हामीले प्रोपोगाण्डा वा हचुवाको भरमा गरेको जस्तो लाग्छ भने किन हामीले गरेको जरिवाना रकम तिरेर बजारबाट वाईवाई चाउचाउ फिर्ता लैजाने सहमति गरेको त रु यदि हामीले गलत मनसायले उनीहरुलाई हानी पुर्याउन उक्त काम गरेको भए त्यसको विरोधमा कानूनी उपचारमा गए भैहाल्यो नि ।’
साथै आफुले बजारबाट स्याम्पल ल्याएर खाद्य प्राविधिकको सिफारिसमा ल्याव परीक्षण गरेरमात्रै अखाद्य वस्तु भेटिएपछि वाईवाई चाउचाउ उत्पादक कम्पनीलाई कारबाही गरेको मानन्धरले जानकारी दिए । ल्याव परीक्षण गर्दा वाईवाई चाउचाउमा जुन खालको अखाद्य वस्तु भेटियो त्यसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने महानगर अन्तरगतको कृषि तथा पशुपक्षी विभागका तत्कालीन प्रमुख डा. अबधेश झाले बताए ।
उनका अनुसार चाउचाउमा एसिड भ्यालु १ mg KOH/g Oil मात्र हुनुपर्छ तर चौधरी ग्रुपले उत्पादन गर्ने वाईवाई चाउचाउमा सो मात्र १३.९३४ mg भेटिएको थियो । ‘चाउचाउमा एसिड भ्यालुको मात्र जति भेटियो यो मानव स्वास्थ्यलाई गम्भीर असर पुर्याउने खानै नहुने वा विषाक्त तत्वभन्दा हुन्छ ।’ साथै उनले वाईवाईको विषयमा कृषि विभागको डाक्टरले परीक्षण गरेको वा कसैलाई वदनाम गराउन हचुवाको भरमा रिपोर्ट ल्याएको भन्दा पनि खाद्य प्राविधिकको आधारमा ल्यावमा नमूना परीक्षण गरेर आएको नतिजालाई आधार मानेर कारबाही गरिएको उनले बताए ।
‘चाउचाउमा कस्तो खालको खाद्य वस्तु प्रयोग भैरहेको छ भन्ने नतिजा त ल्यावले दिएको हो नि,’ उनले भने, ‘मैले ल्याबबाट आएको रिपोर्टलाई आधार मानेर यसले कस्तो असर गर्छ र ऐन नियम अनुसार कस्तो खालको कारबाही गर्ने भनेर प्रमाणित गरेको हुँ ।’ यदि महानगरले हचुवाको भरमा रिपोर्ट निकालेर कसैलाई बदनाम गराउन रिपोर्ट निकालेको जस्तो लाग्छ भने अहिले पनि त्यहिँ वाईवाई चाउचाउको स्याम्पल महानगरसँग सुरक्षित रहेको र त्यसलाई पुनः परीक्षण गराउँदा हुने उनले जानकारी दिए ।
महानगरपालिकाले बजारबाट वाईवाई चाउचाउको नमुना संकलन गरेर “जेष्ट ल्याब”मा परिक्षण गराएको थियो । ‘महानगरले जनताहरुले केकस्ता खाद्य वस्तु खाइरहेका छन् भन्ने विषयमा त्यस्ता वस्तुको गुणस्तर परीक्षण गर्दै आएको छ,’ उनले भने, ‘सोहीक्रममा हामीले वाईवाई चाउचाउको पनि नमुना संकलन गरेर परीक्षण गरेका थियौं तर त्यसमा मानव स्वास्थ्यलाई गम्भीर असर पुर्याउने अखाद्य वस्तु भेटियो ।’ वाईवाईमा क्यान्सरदेखि मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य वस्तु भेटिएपछि उत्पादक कम्पनीलाई कारबाही गरेर त्यस्ता उत्पादन बजारबाट फिर्ता लैजान निर्देशन दिइएको झाले जानकारी दिए ।