फार्म ट्रिप काण्ड : प्रक्रिया गलत भयो होला, यसको जिम्मेवारी म लिन्छु : निरौला
काठमाडौं – स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) का अध्यक्ष राजु निरौलाले अस्ट्रेलिया फार्म ट्रिपका क्रममा प्रक्रिया गलत भएपनि काम गलत नभएको बताएका छन् । ‘फेकनका अध्यक्षले संस्थाको दुरुपयोग गर्दै मानव तस्करी गरेको आरोप’ शीर्षकको समाचार खण्डन गर्दै निरौलाले यो सामान्य विषय भएको बताएका हुन् ।
उनले बैठकको निर्णयभन्दा बाहिरबाट केही साथीहरुको भिसा आवेदन गरेको स्वीकार्दै पैसा लिएर कसैको पनि भिसा आवेदन नलिएको बताए । ‘हामीलाई बैठकको निर्णय अनुसार फार्म ट्रिपका लागि भिसा सिफारिस गर्नुपर्ने हो । निर्णयमा नाम भएका केही साथीहरुले नजाने भन्नु् भयो । हामी आफैले व्यक्तिगत पैसा खर्च गरेर ट्रिपमा आएका छौं ।’, मोटिभेट न्यूजसँगको टेलिफोन सम्बादमा निरौलाले भने, ‘कोषाध्यक्षदेखि महासचिवसम्मले पैसा नभएका कारण जान नपाउने भन्नुभयो । उनीहरु आफू पनि नजाने, अरुलाई पनि जान नदिने र संस्थाको बदनाम गर्ने योजनामा लाग्नुभयो । हामीले केही गलत गरेका छैनौं । टिम पुर्याउँदा निर्णयभन्दा बाहिरबाट तर फेकनकै सदस्यलाई हाल्न पर्ने भयो ।’
उनको यो विषयको नैतिक जिम्मेवारी अध्यक्षको हैसियतले आफूले लिने बताए । ‘विद्यानमा छानविन समिति गठन गर्ने प्रावधान छैन । उहाँहरुले हाम्रो गतिविधिलाई रोक्न धेरै प्रयास गर्नुभयो । फार्म ट्रिपमा डिस्टर्व नहोस् भनेर समिति बनाइयो ।’, उनले भने, ‘समितिले पूर्वाग्रही भएर रिपोर्ट बनायो । यो फेकनलाई बदनाम गर्ने उनीहरुको रणनीति हो । आजसम्म कसैले यसरी फार्म ट्रिप गरेको थिए ? हामीले गरेको देखेपछि उनीहरुलाई सइनसक्नु भएको छ । उमेशको काम गर्ने तरिका र हुटहुटी, फेकनलाई गरेको मायालाई उनीहरुले कमजोरी ठाने । अहिले उहाँलाई अध्यक्ष बन्नबाट रोक्न षड्यन्त्र भएको मात्र हो । यसको नैतिक जिम्मेवारी म लिन्छु ।’
फेकनका अध्यक्षले संस्थाको दुरुपयोग गर्दै मानव तस्करी गरेको आरोप
चुनावमा बरिष्ठ उपाध्यक्ष उमेश कुस्वारलाई अध्यक्ष बन्नबाट रोक्नका लागि आजैबाट तयारी थालेको बताउँदै उनले यस्ता प्रवृत्तिले उनीहरुलाई नै नङ्ग्याउने बताए । फेकनमा अस्ट्रेलियामा जारी फार्म ट्रिपमा जाँदा गैरफेकनियनलाई पनि लिएर गएको विषयमा विवाद छ । यो विवाद समाधान गर्नका लागि विधान विपरित पूर्वअध्यक्ष मानबहादुर राईको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको थियो । सो समितिले अध्यक्ष निरौला र बरिष्ठ उपाध्यक्ष उमेश कुश्वाहलाई ठोषी देखाएको थियो ।
फार्म ट्रिप काण्ड : छानविन समिति गठन त्रुटिपूर्ण छ – पूर्वअध्यक्ष कटुवाल