रास्वपाका मन्त्रीहरुले राजीनामा खल्तीमा बोकेर हिँडेकोबारे रविले बल्ल खोले मुख

बिहिबार, ७ असार २०८१

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले रास्वपाबाट मन्त्री बनेकाहरुले राजीनामा खल्तीमा बोकेर हिँडेको छौं भन्दैमा वर्तमान सत्ता समीकरणमा कुनैपनि अप्ठ्यारो नपर्ने प्रष्ट पारेका छन् ।

बिहीबार चितवन पुगेका रास्वपाका सभापतिसमेत रहेका लामिछानेले खल्तीमा राजीनामा बोकेर हिँड्नु रास्वपाको मूल स्वभावको निरन्तरता भएको बताएका छन् । ‘त्यसको मोटिभ हामीले राम्रो काम गर्न सकेनौं भने वा काम गर्न पाइएन, सकिएन भने टाँसिइरहेर बसेर हुँदैन भनेर सुरूवातदेखि नै भनिरहेका छौं। यो रास्वपाको मूल स्वभावको निरन्तरता हो,’ उनले भने।

पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले बजेटका बारेमा आफ्नो दलपनि सामान्य असन्तुष्ट रहेको प्रष्ट पार्दै बजेट पास गर्नका लागि पक्षमा मतदान गर्ने प्रष्ट पारे ।

फरक प्रशंगमा लामिछानेले प्रहरी महानिरिक्षक (आईजीपी) फेर्नेबारे कुनैपनि काम नभएको प्रष्टीकरण दिएका छन् । उनले आईजीपी फेरिने हल्लामात्र भएको र आईजीपी फर्नेबारेको समाचारमा कुनैपनि सत्यता नरहेको जिकिर गरे ।

केही दिनअघि गृहमन्त्री लामिछानेले आईजीपी बसन्त कुबँरलाई हटाएर श्यामलाल ज्ञवालीलाई आईजीपी बनाउन लागेको कुरा बाहिर आएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि यसबारेमा कुनै पनि सत्यता नरहेको बताएका छन् ।