बालेनका कारण फेरी रोकियो काठमाडौंको नगरसभा

शुक्रबार, १५ असार २०८१

काठमाडौं – काठमाडौं महानगरपालिकाको नगरसभा बैठक स्थगित भएको छ । मेयर बालेन्द्र साह र वडाअध्यक्षहरूबीचको विवाद साम्य हुन नसक्दा नगरसभा बस्दै नबसी स्थगित भएको हो ।

असार १० गते बसेको नगरसभाको बैठकमा मेयर बालेन्द्र साहले पेस गरेका नीति तथा कार्यक्रममा २८ बुँदे संशोधन प्रस्ताव हालेका थिए । वडाअध्यक्षहरूले हालेका ती संशोधनमा आज छलफल हुने तालिका थियो । नगरसभाको १५ औँ अधिवेशन बसेको उक्त दिन आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम पेश हुँदा वडाअध्यक्षहरूले संशोधन प्रस्ताव हालेका थिए ।

तर बालेन्द्रले यथासम्भव ती कुरालाई समावेश गरिने एक मुष्ट जवाफ दिएका थिए । उनको जवाफमा चित्त नबुझाएका अन्य जनप्रतिनिधिहरूले बरु यसबारेमा समिति गठन गर्न प्रस्ताव गरेका थिए । आफूहरूले राखेका संशोधन प्रस्ताव सबै समेटिनुपर्ने अडान राखेका उनीहरू र मेयरबीच फेरि द्वन्द्व देखिएको हो ।

वडाअध्यक्षहरूले त्यसदिन लिखित र मौखिक सबै कुरा नीति तथा कार्यक्रममा समेटिनुपर्ने बताएपछि आजका लागि नगरसभा डाकेर कुरा मिलाउने सहमतिसहित असार १० मा नगरसभा रोकिएको थियो ।

असार १० को नगरसभामा मेयर बालेन्द्रको कार्यशैली र प्रवृत्तिलाई लिएर अरु जनप्रतिनिधिले चर्को आलोचना र घेराबन्दी गरेका थिए । मेयर साहलाई वडाअध्यक्षहरूले प्रतिपक्षीकै शैलीमा घेरेका थिए ।

त्यसदिन मेयर साहले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पास नै नगरी बजेट प्रस्तुत गरिएको थियो । नीति तथा कार्यक्रम प्रस्तुत नभएको अवस्थामा पनि वडाअध्यक्षहरूको सहमतिमा उपमेयर सुनिता डंगोलले २५ अर्ब ६७ करोडको बजेट पेस गरेकी थिइन् ।

उक्त दिन उपमेयर डंगोलले मेयरदेखि नगरसभा सदस्यहरू पनि अराजक शैलीमा प्रस्तुत हुने भन्दा संयमित भएर अघि बढ्नु उचित हुने बताएकी थिइन् ।