मिसन ८४ फेल खान्छ भन्ने महामन्त्री ढकाललाई रविले गरे यस्तो कारबाही

शनिबार, १६ असार २०८१

काठमाडौँ – देश दौडाहापछि पार्टीका बारेमा जनधारणा समेट्दै प्रतिवेदन तयार पारेका महामन्त्री मुकुल ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार स्पष्टीकरण सोधेको छ । सभापतिलाई बुझाइएको प्रतिवेदन पहिल्यै सञ्चामाध्यममार्फत सार्वजनिक गरेको भन्दै ढकाललाई स्पष्टीकरण सोधिएको हो ।

रास्वपाको केन्द्रीय अनुशासन तथा आचरण समितिले सभापति रवि लामिछानेकै निर्देशनमा ढकाललाई अनुशासन उल्लंघन गरेको आरोपमा स्पष्टीकरण सोधेको हो । रास्वपा सहप्रवक्ता प्रतिभा रावलले पनि महामन्त्री ढकालसँग स्पष्टीकरण सोधिएको जनाइन् ।

रास्वपा केन्द्रीय अनुशासन तथा आचरण समिति स्रोतका अनुसार प्रतिवेदन सार्वजनिकलगायतका विषयलाई लिएर ढकालसँग स्पष्टीकरण सोधिएको हो । ‘पार्टीको अनुशासन उल्लंघन गरेको, प्रतिवेदन सञ्चारमाध्यममा सार्वजनिक गरेको र सत्ता गठबन्धनलगायत विषयमा बोलेपछि स्पष्टीकरण सोधिएको हो,’ उक्त स्रोतले भन्यो ।

महामन्त्री ढकालले भने स्पष्टीकरण पत्र सहयोगीमार्फत प्राप्त भएको बताए । भने, ‘दर्ता भएको छ भनेर स्टाफले भनेका छन् । आइतबार हेर्छु । मलाई सभापतिबाहेकले स्पष्टीकरण सोध्न मिल्दैन । उहाँले त्यस्तो केही भन्नुभएको छैन ।’