सिमताल पहिरो अपडेट : हराएका बस खोज्न ७० जना प्रहरी परिचालन

शुक्रबार, २९ असार २०८१

चितवन – चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डमा गएको पहिरोले बगाएका दुई वटा बसको खोजीमा सशस्ज्ञ प्रहरीका ७ जना गोताखोरसहित ७० जना परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको फौजले घटनास्थलमा पुगी उद्धार कार्य सुरु गरेको छ ।

आज बिहान ३ बजे सो सडकखण्डको सिमताल भन्ने ठाउमा अविरल वर्षासँगै आएको पहिरोले दुई वटा बस बगाएको थियो । काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एन्जट बस पहिरोसहित त्रिशूलीमा खसेका हुन् ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।