एनपीएल खेल्न इच्छुक अफगानिस्तानका १० जना खेलाडीमध्य तीन जनाले तोके मूल्य
काठमाडौं – पछिल्लो समय क्रिकेटको बलियो राष्ट्रका रुपमा उदाएको अफगानिस्तानका खेलाडीहरुले नेपाल क्रिकेट संघ (क्यान) ले पहिलोपटक गर्न लागिको नेपाल प्रिमियर लिगमा चासो दिएका छन् । हाल राष्ट्रिय टीमबाट खेल्दै आएका सहित १० जना अफगान खेलाडीहरुको नाम क्यानमा आएको छ ।
ती खेलाडीहरुले आफूहरु एनपीएल खेल्न इच्छुक रहेको भन्दै एजेन्टमार्फत क्यानलाई नाम पठाएका हुन् । क्यानले खेलाडीहरुको सूची र सम्पर्क नम्बर ८ वटै फ्रेन्चाइजहरुलाई बाँडिसकेको छ । सूचीमा रहेका खेलाडीहरुसँग फ्रेन्चाइजहरुले आफैं कुरा गर्न सक्नेछन् । उनीहरुलाई ल्याउन मूल्यको कुनै सीमा तोकिएको छैन । अफगानिस्तानका खेलाडीहरुले यसअघि पनि नेपालका विभिन्न टि–२० लिग खेल्दै आएका थिए । तर, पछिल्लो समय टेस्ट राष्ट्रहरुसँग लगातार उत्कृष्ट प्रदर्शन गर्न थालेपछि अफगान खेलाडीहरुको भाउ बढेको छ । उनीहरुलाई खरिद गर्न पहिलेजस्तो सजिलो छैन ।
तीन अफगान खेलाडीले मात्रै आफ्नो मोल तोकेका छन् । क्यानसँग सम्पर्क भएर उनीहरुले आफ्नो मूल्य दिएका हुन् । जसअनुसार रमानुल्लाह गुरवाजले भारतीय रुपैयाँ एक करोड २० लाख भारु माग गरेका छन् । यति रकममा आफू पूरा प्रतियोगिताभरि उपलब्ध हुन सक्ने उनको प्रस्ताव छ । २२ वर्षिय गुरवाज अफगानिस्तानको राष्ट्रिय टीमका ओपनर समेत हुन् । उनी विष्फोटक ब्याटिङका लागि चिनिन्छन् र पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले यसअघि पनि नेपाल आएर खेलेका थिए ।
अफगानिस्तानका बलर नविन उल हकले पनि एनपीएल खेल्न इच्छा देखाएका छन् । २५ वर्षिय नविनले पनि आफू पूरा प्रतियोगिता खेल्न सक्ने भन्दै भारु ८० लाखको माग गरेको स्रोतले बतायो । क्यानले उनीसँग एक चरण कुरा गरिसकेको छ । यस्तै, एनपीएलका लागि आफ्नो मूल्य तोकेका अर्का खेलाडी मुजिब उर रहमान अर्का हुन् । उनी उत्कृष्ट स्पिनरका रुपमा चिनिन्छन् र टि २० फ्रेन्चाइजहरुमा निकै चर्चित छन् । पावरप्लेमा स्पिनर बल फ्याक्नु उनको सवल पक्ष हो । प्रतियोगिताभरका लागि उनले आफ्नो मूल्य ९० लाख भारतीय रुपैयाँ निर्धारण गरेका छन् ।