कांग्रेसभित्रै अब द्वन्द्व व्यवस्थापन गर्ने सूत्र छैन
ओम आचार्य
भाद्र २३/२४ मा जेनजी आन्दोलनबाट देशमा उत्पन्न भएको परिस्थितिले कांग्रेसको संगठनमा इतर समूहले भन्ने गरेको अप्राकृतिक परिवर्तनले कांग्रेसभित्र आपसआपसमै ठूलो द्वन्द्व निम्त्याएको छ। यो द्वन्द्व संगठनभित्र मात्र नरहेर निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्म पुगेको छ। अदालतको निर्णयपछि पनि कांग्रेसको द्वन्द्व व्यवस्थापन हुन सकेन। पुनः अदालतमा पुनरावलोकनको मुद्दा परेपछि दुवै समूहले अहिले रुख र चार तारासमेत प्रयोग गर्ने आधार पाएका छन्।
अहिलेको संस्थापन समूहले १५औँ महाधिवेशन समेत सम्पन्न गरिसकेको छ। सभापतिमा गगन थापा भारी मतले निर्वाचित भइसकेका छन्। संस्थापन इतर समूह पनि १५औँ महाधिवेशनको तयारीमा चार तारा र रुख चिह्नबाटै वडा अधिवेशन गर्दै केन्द्रीय अधिवेशनको तयारीमा जुटिसकेको छ।
मूल झगडा नै चार तारा र रुखकै
अहिले कांग्रेसको मूल झगडा भनेकै चार तारा र रुखकै हो । देउवा समूहले पनि सर्वोच्चमा हालेको पुनरावलोकन मुद्दाबाट नै चार तारा र रुख प्रयोग गर्न पाइरहेको छ। यो सुविधा पाउन्जेल यो समूह पार्टी फुटाउन चाहँदैन। यही आकर्षणले गर्दा अहिले पनि देउवा समूहमा कांग्रेस कार्यकर्ताहरू बसिरहन आपत्ति मान्दैनन् र भन्छन्, “चार तारा र रुख हामीसँग पनि छ।” त्यति मात्र होइन, कांग्रेसभित्रका शीर्ष नेताहरू पनि यसैसँग आबद्ध रहेको बताउँछन्।
अदालतमा रहेको विचाराधीन पुनरावलोकन मुद्दामा कस्तो फैसला आउँछ भन्ने कांग्रेस व्यग्रताका साथ पर्खिरहेको छ। पार्टीभित्रको झगडामा अदालतले गर्ने फैसला कस्तो हुन्छ, त्यो आफ्नो ठाउँमा छ। अहिले देखिएको कांग्रेसको झगडा भनेको रुख र चार ताराकै हो। निर्वाचन आयोगले गरेको फैसला र सर्वोच्चले गरेको फैसलाबाट पनि असन्तुष्ट भई इतर समूह पुनरावलोकनसम्म पुग्दा आधिकारिकतामा रुख र चार ताराकै झगडाले त्यहाँसम्म पुर्याएको हो।
दलभित्रको झगडा नेपालमा मात्र होइन, छिमेकी मित्रराष्ट्र भारतमा पनि दलको आधिकारिकताको विवाद अदालतसम्म पुग्ने गरेको छ। मुद्दाको प्रकृति नेपाली कांग्रेस र भारतको राजनीतिक दलको प्रकृतिभन्दा फरक भए पनि मूलतः चुनाव चिह्न र आफ्नो दलको लोगोकै विवाद रहेको देखिन्छ। पुनरावलोकनको मुद्दाको फैसला संस्थापन वा इतर समूह, जसको पक्षमा पनि हुन सक्छ। तर, त्योभन्दा अर्को पनि फैसलाको सम्भावना छ। मित्रराष्ट्र भारतमा यस्तै विषयमा राजनीतिक दलको आधिकारिकतासम्बन्धी विवादका मुद्दा हेर्ने हो भने त्यहाँको अदालतले राजनीतिक दलको विवादमा गरेका निर्णय अर्थात् फैसला हेर्दा नेपाली कांग्रेसको इतिहासमा त्यस्तो फैसला कांग्रेसको मृत्युसरह हुन सक्छ।
भारतीय राष्ट्रिय कांग्रेसमा आधिकारिकताको विषयमा निर्वाचन आयोग र अदालतले गरेको फैसला हेर्ने हो भने कांग्रेसको चुनाव चिह्न जोत्दै गरेको गोरुको जोडीबाट गाई र बाछोमा आउनुपर्यो। अर्को पटक पुनः विवाद हुँदा त्यो निर्वाचन चिह्न पनि खारेज वा स्थगित गर्दै चुनाव चिह्न हत्केलामा पुग्यो। भारतीय राष्ट्रिय कांग्रेसको स्थापना हुँदाको चुनाव चिह्न हत्केला थिएन।
भारतीय राष्ट्रिय कांग्रेसमा मात्र होइन, अन्य दलहरूमा पनि आधिकारिकतासम्बन्धी विवादमा अदालतले भारतीय राष्ट्रिय कांग्रेसकै जस्तो चुनाव चिह्न खारेज वा स्थगित गर्दै नयाँ चुनाव चिह्न दिएको थियो। अहिले यहाँ नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन छ। अदालतको फैसला संस्थापन समूहको पक्षमा पनि हुन सक्छ, इतर समूहको पक्षमा पनि हुन सक्छ। भारतमा अदालतले गरेका निर्णय हेर्दा अर्को सम्भावना रुख र चार तारा चुनाव चिह्न खारेज वा स्थगित हुनु पनि हुन सक्छ। त्यो अदालतले निर्णय गर्ने विषय हो।
८० वर्षको इतिहास
यदि नेपाली कांग्रेसको इतर समूह र संस्थापन समूहले रुख र चार तारा छोडेर अर्को चुनाव चिह्न लिएर पार्टी संगठन चलाउनुपर्ने अवस्था आयो भने कांग्रेसको ८० वर्षको इतिहासमा ग्रहण लाग्न सक्छ र निकट भविष्यमा हुने निर्वाचनमा प्रतिकूल परिणाम भोग्नुपर्ने देखिन्छ। कांग्रेसको इतिहास समाप्त नभए पनि धमिलोसम्म हुन सक्छ। अनि सानेपा कसले प्रयोग गर्ने भन्ने विषय पुनः अर्को विवाद बन्न सक्छ।
डा. शेखर कोइराला
मध्यस्थताको भूमिका र एकताको अधिवेशनको पक्षमा रहेका डा। शेखरको रणनीति नै वास्तवमा कांग्रेस बचाउने थियो। पटक(पटक “पार्टी फुट्न दिन्नँ, पार्टी फुट्दैन” भन्ने डा। शेखरले कांग्रेसको इतिहास र पार्टीमा आउन सक्ने ठूलो संकटको आकलन गरेर नै बीचमा रहेर पार्टी मिलाउन खोजेपछि उनको विचारको कदर हुने अवस्था आउन सक्छ या नआउन सक्छ। कांग्रेसको यो द्वन्द्व व्यवस्थापन र कांग्रेसको भविष्य अदालतको निर्णयमा भर पर्छ।
प्रतीक्षा गर्नुबाहेक अर्को विकल्प छैन। कांग्रेसभित्रै अब द्वन्द्व व्यवस्थापन गर्ने सूत्र सायद छैन।
