नेपाल बैंकबाट हरायो २० अर्ब ४० करोड रुपैयाँ, खोज्न माग गर्दै उजुरी
काठमाडौँ – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडबाट २० अर्ब ४० करोड १५ लाख बढी रकम हराएको छ । बैंकबाट साना तथा मझौला उद्योग कर्जा शिर्षकमा २०७४ चैत्र र २०७५ असारमा स्वीकृत कर्जाको रकम बैंकको सिस्टमबाट हराएको हो ।
सूचना अभियान्ता अंगराज भारतीले केही बर्ष लगाएर गरेको अध्ययन पछि ठूलो रकम हराएको पाइएको हो । यसरी अर्बौ रकम हराएको पाइएपछि भारतीले बैंकमा उजुरी गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सम्बोधन गर्दै हराएको रकम खोज्न माग गरेका छन् ।
भारती बैशाख २ गते गरेको उजुरीमा सो कर्जा तत्कालिन समयमा कस्ले अपचलन गरी व्यापारीलाई वा संचालकहरु तथा बैंकका कर्मचारीहरुलाई पोस्ने काम भयो ? सो को अनुसन्धान गरी सत्थ्य-तत्थ्य पत्ता लगाई अपचलनमा सहयोग गर्ने जो कोहिलाई आवश्यक कारवाहि गर्न अनुरोध गरेका छन् । उनले नेपाल बैंक र नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको विवरण अध्ययन गर्दा रकम नभेटिएको आरोप लगाएका छन् ।
बैंकको २०७४ फागुन महिनामा साना तथा मझौला उद्योग तर्फ कर्जा सीमा रु. ३३ अर्व २७ करोड ८३ लाख कर्जा देखिन्छ । सोहि समयमा बैंकको वास्तविक कर्जा रु. ३१ अर्व ४८ करोड ५६ लाख देखिन्छ । फागुनदेखि चैत्र महिनामा आई पुग्दा सोहि शिर्षकमा कर्जा सीमा रु. २२ अर्व ४५ करोड ७९ लाख देखिन्छ भने वास्तविक कर्जा रु. २१ अर्व ५ करोड ३२ लाख मात्र देखिन्छ । नेपाल राष्ट्र बैंकले नेपाल बैंकको २०७४ फागुनमा कुल वास्तविक कर्जा रु. ७९ अर्व १९ करोड ४ लाख र चैत्त महिनामा रु. ७९ अर्व ७० करोड ५९ लाख कर्जा प्रकाशित गरेको छ । नेपाल राष्ट्र बैंक अनुसार फागुनदेखि चैत्रमा नेपाल बैंकको जम्मा रु. ५१ करोड ५४ लाखले मात्र कर्जा बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकले रु. ५१ करोड ५४ लाखले कर्जा बढेको देखाएको अवस्थामा नेपाल बैंकको फागुनदेखि चैत्र महिनाको साना तथा मझौला उद्योगमा वास्तविक कर्जा रु. १० अर्व ४३ करोड २३ लाख कर्जा घटेको देखिन्छ । समग्रमा जम्मा ५१ करोड ५४ लाखले कर्जा बढेकोमा समग्र भित्रको कुनै एउटा शिर्षकमा ठूलो रकम घट्नुलाई भारतीले बैंकका तत्कालिन संचालक समिति, प्रमुख कार्यकारी अधिकृत र व्यापारीको मिलेमत्तो रकम अपचलन गरेको अर्थ लगाएका छन् ।
त्यस्तै, २०७५ जेठको तुलनामा असारमा पनि त्यसैगरी रु. ९ अर्व ९६ करोड ९१ लाख गायव भएको उनको आरोप छ । दुईटै आर्थिक बर्षमा हराएको रकम जोड्दा २० अर्ब ४० करोड १५ लाख रुपैयाँ हराएको बताउँदै भारतीले खोजी गर्न माग गर्दै बैंकमा उजुरी गरेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगल नेपाल राष्ट्र बैंक, राष्ट्रिय सूचना आयोग, सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागसहित थुप्रै मिडियालाई समेत बोधार्थ पठाएका छन् ।
बैंकले उजुरीका विषयमा कुनै जवाफ दिएको छैन् । उजुरीकर्ता भारतीका अनुसार उनलाई १५ दिनभित्र छानविन गरी जानकारी दिने जनाएको छ ।

