कांग्रेसमा देउवा पुनः शक्तिशाली

आइतबार, ७ मंसिर २०८२

काठमाडौँ – जेनजीको कुटाइबाट थलिएका शेरबहादुर देउवा पुनः शक्तिशाली भएर उदाएका छन् । एक महिना बढी बसेको कांग्रेसको केन्द्रीय समिति बैठकबाट देउवा पुनः शक्तिशाली भएर उदाएका हुन् ।

बैठकपछि आगामी निर्वाचनमा देउवाले हस्ताक्षर गरेका उम्मेदवार कांग्रेसको आधिकारिक उम्मेदवार हुनेगरी निर्वाचन आयोगमा दल दर्ता भएको छ । देउवाले आफ्नो गुटका नेतालाई टिकट दिएर निर्वाचनमा पठाउने र आफू पुनः संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्न कस्सिएका छन् ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार निर्वाचन आयोगमा पार्टी दर्ता गराएका हुन् । कांग्रेसले शनिबार चुनावमा भाग लिने निर्णय गरेको थियो ।

चुनावी प्रयोजनका लागि दल दर्ताको निवेदन दिँदा टिकटमा हुने आधिकारिक हस्ताक्षरको नमुना आयोगमा पेस गर्नुपर्छ । स्रोतका अनुसार कांग्रेसले टिकटमा हस्ताक्षरका लागि सभापति देउवाकै नाम बुझाएको छ ।जेनजी आन्दोलनमा आक्रमणमा परेपछि उपचारका लागि सिंगापुर जानुअघि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक दिएका थिए ।

महामन्त्रीहरू विश्वप्रकाश शर्मा र गगन थापाले देउवाकै नेतृत्वमा चुनावमा जान नसकिने तर्क गर्दै आएका छन् । माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि दल दर्ताको निवेदन दिने आज अन्तिम दिन हो । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भने मंसिर १० गतेसम्म दर्ताको निवेदन दिने समय तोकिएको छ ।