सरकारले असहयोग गरेपछि पुरुष टी-२० विश्वकप क्रिकेट खेल्न बस र रेल चढेर पाकिस्थान

बिहिबार, ६ मंसिर २०८१

काठमाडौँ – राज्यको सहयोग नपाएपछि नेपाली टोली दृष्टिविहीनहरुको पुरुष टी – २० विश्वकप क्रिकेटमा सहभागी हुन बस र रेलमार्फत नै पाकिस्तानतर्फ प्रस्थान गरेको छ । नेपाली टोली बुधबार रुपन्देहीको बेलहिया नाका भएर भारत हुँदै पाकिस्तान प्रस्थान गरेको हो ।

शनिबार आफ्नो पहिलो खेल खेल्नु पर्ने नेपाली टोली लामो यात्रापछि बिहीबार दिउँसो भारतको अमृतसर पुगेको छ । नेपाली टोलीले खेलस्थलसम्म पुग्न अझै लामो यात्रा गर्नु पर्नेछ । बस र रेलको यात्राबाट थकित भएर पाकिस्तान पुगेलगत्तै नेपाली टोलीले शनिबार श्रीलंकासँग पहिलो खेल खेल्नेछ ।

नेपाल ब्लाइन्ड क्रिकेट एसोसिएसनका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले बिहीबार दिउँसो आफूहरु भारतको अमृतसरनजिकै पुगेको जानकारी दिए । उनले लामो रेल यात्राका कारण खेलाडीहरु थकित भएको बताए ।

‘हामी भर्खर भारतको अमृतसरनजिक पुगेका छौं । यात्राका कारण खेलाडीहरु थाकेका छन्,’ उनले भने। हवाई जहाजको टिकट किन्न नसकेकाले नेपाली टोली दृष्टिविहीनहरुको विश्वकपमा सहभागी हुन बस र रेलमार्फत नै पाकिस्तान प्रस्थान गरेको जानकारी पनि उनले दिए ।