राजनीतिमा लाग्दा टाँट पल्टिए दुगड
काठमाडौँ – राजनीतिमा लाग्दा उद्योगी मोतिला दुगड टाँट पल्टिएका छन् । व्यवसायमा फड्को मारिरहेका बेला राजनीतिमा प्रवेश गरेका दुगड चरम आर्थिक संकटमा फसेका हुन् । राजनीतिको नसामा लठ्ठिँदा लठ्ठिँदै दुगडको व्यापार व्यवसाय चौपट्ट भएको छ ।
एकातिर बैंकको ऋण तिर्न सकेका छैनन् भने अर्कातिर साथीभाइसँग लिएको ऋण तिर्न नसकेर करोडौंका चेक बाउन्स भएका छन् । शक्तिशाली सरकारको राज्यमन्त्री भइसकेका अर्बौंको व्यापार गर्ने दुगड अहिले यतिसम्म कमजोर भइसकेका छन् कि ५–१० करोड रुपैयाँको चेक बाउन्सकै मुद्दामा जुनसुकै दिन प्रहरीले पक्राउ गर्ने अवस्था आएको छ ।
आर्थिक संकट थाम्न नसकिने अवस्थामा आएपछि दुगडले अचल सम्पत्ति बिक्री गरेर ऋण तिर्ने योजना बनाएका छन् । विभिन्न बैंक तथा वित्तीय संस्था र व्यक्तिगत ऋणको बोझले थिचिएका दुगडले आफनो ‘ड्रिम प्रोजेक्ट’ का रुपमा निर्माण सुरु गरेको होटल सेन्चुरियन तथा मल निर्माणकै क्रममा भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङलाई बिक्री गर्ने भएका हुन् ।
‘बैंक वित्तीय संस्था र व्याक्तिगत ऋणको भार थेग्न नसकेर आफनो ‘ड्रिम प्रोजेक्ट’ होटल सेन्चुरियन एवं मल निर्माणकै क्रममा बिक्री गर्न बाध्य भएँ,’ दुगडले क्लिकमान्डुसँग भने, ‘भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई १ अर्ब ५५ करोड रुपैयाँमा बिक्री गरेर ऋण तिर्दै छु ।’ ऋण तिर्न नसकेपछि बैंकले धितो रोक्का गरेको छ भने विभिन्न व्यक्तिलाई दुगडले काटेका चेक बाउन्स भएका छन् । दुगडले होटेलमा पार्टनर बनाउने वा १० प्रतिशतभन्दा बढी प्रतिफल दिने भन्दै ५०(६० करोड रुपैयाँ ऋण लिएका थिए । त्यतिमात्रै होइन, डेडिकेटेड र ट्रंक लाइन विवादमा प्रधानमन्त्री ओलीलाई मिलाउँछु भन्दै केही व्यवसायीबाट पैसा उठाएको आरोप उनीमाथि लाग्ने गरेको छ । होटेलले काटेका करोडौंका चेक बाउन्स भएपछि जुनसुकै दिन पक्राउ पर्नसक्ने जोखिममा थिए । यद्यपि व्यवसायीहरुकै पैसा लिएकाले चेक बाउन्स हुँदा पनि दुगडले केही मौका पाए ।
दुगडले मिनबहादुर गुरुङसँग पनि करोडौं रुपैयाँ ऋण लिएका थिए । उक्त ऋण तिर्न ताकेता गर्दा दुगडले होटल नै बिक्री गर्ने प्रस्ताव गरेका हुन् । गुरुङसँगै कांग्रेस कोषाध्यक्षसमेत रहेका व्यवसायी उमेश श्रेष्ठ पनि पार्टनर छन् । श्रेष्ठ प्राइम बैंकका ठूला सेयरधनी हुन् । प्राइम बैंकले दुगडको होटेल भएको धितो कम्पनी रजिष्ट्रारको कार्यालयमा रोक्का राखेको छ ।
नयाँ समूहले लिने भएपछि बैंकले पनि सहजीकरण गर्ने बताइएको छ । उक्त परियोजनामा ग्लोबल आइएमइ बैंकको पनि लगानी रहेको छ। ‘मोतिजीले पटक पटक समय मागिरहनु भएको छ उहाँको होटेलले दिएको करोडौंका चेक बाउन्स भएका छन्, उहाँले यही बैशाख मसान्तसम्ममा चुक्ता गर्छु भनेर अन्तिम समय दिनु भएको छ, अब पनि पैसा तिर्नु भएन भने प्रहरीकहाँ जानुको विकल्प छैन,’ दुगडलाई पैसा दिएका एक व्यवसायीले भने ।
अढाई दशकअघि सेन्चुरी मसला उद्योग स्थापना गरेर हाल भान्साका सामानदेखि सेन्चुरी ब्राण्डका नाममा स्पाइसेज, स्न्याक्स, इनर्जी ड्रिंक, सातु लगायतका खाद्य बस्तु उत्पादन गर्दै आएका दुगडले क्यासिनो सहितको पाँच तारे होटल, व्याङक्वेट र मल सञ्चालन गरेर एकै थलोबाट सवै सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले सन् २०१५ मा विराटनगर ६ धरान रोडमा रहेको २४ कठ्ठा जमिनमा होटल सेन्चुरियन र मलको शिलान्यास गरेर निर्माण सुरु गरेका थिए । हाल उनको विराटनगरमा होटल ह्यारिसन सञ्चालनमा छ । यो होटल यहाँको राम्रो र महँगोमा गनिन्छ ।
भाटभटेनीका सञ्चालक गुरुङले पनि यो भवनमा पाँचतारे होटलसहित, मल र इन्टरटेनमेन्ट पार्कसमेत सञ्चालन गर्ने तयारी गरेका छन् । सेन्चुरीयन मलभन्दा करिब ५० मिटर दक्षिणमा गुरुङको भाटभटेनी सुपर मार्केट सञ्चालनमा छ । निर्माण सुरु भएको दशकमा पनि होटल सेन्चुरियन र मल निर्माण सम्पन्न हुन सकेन । यो अवधिमा अनेक आरोह, अवरोध, कोरोना कहर र आर्थिक संकट आइलाग्यो ।
‘यो बीचको समय र परिस्थितिले मलाई साथ दिएन, त्यसैले मलाई ऋणमाथि ऋण थपिदै आर्थिकरुपमा कमजोर बनायो । ऋणको यो दलदलकाट निकास लिन आफनो ‘ड्रिम प्रोजेक्ट’ बिक्री गर्न बाध्य भएँ,’ दुगडले भने, ‘मीनबहादुरजीसँग बैनास्वरुप ५० करोड रुपैयाँ लिएर व्याक्तिगत ऋण तिर्दै छु, अब प्राइम बैंक र ग्लोबल आइएमई बैंकको ऋण तिर्न बाँकी छ, १ अर्ब ५५ करोड रुपैयाँले दुवै बैंकसहित सबैको ऋण चुक्ता हुन्छ ।’
दुगडले आफ्नो कुल ऋण तथा प्राइम बैंक र ग्लोबल आइएमई बैंकको कति ऋण हो खुलाउन चाहेनन् । स्रोतको अनुसार प्राइम बैंकको मात्र सेन्चुरीयन समूहलाई २ अर्ब रुपैयाँभन्दा बढी ऋण छ । अन्य बैंक तथा वित्तीय संस्था र व्यक्तिको समेत गर्दा दुगडको ऋण ५ अर्ब रुपैयाँको हाराहारी रहेको छ ।
व्याक्तिगत केही ऋणीसहित प्राइम र ग्लोबल आइएई बैंकले निर्माणधीन सेन्चुरियन भवन र जग्गा कम्पनी रजिष्ट्रारको कार्यालयमा रोक्का गरेका कारण भाटभटेनीलाई पास गर्न समय लागेको स्रोतको दाबी छ । भवन र जमिन भाटभटेनीको नाममा मालपोतबाट पास हुन बाँकी रहेको खुलाउँदै दुगडले भने, ‘भाटभटेनीका नाममा पास गर्ने प्रक्रिया भइरहेको र त्यो कार्य चाँडै हुने छ ।’ क्लिकमाण्डौँबाट