इन्द्रेणी समता एजुकेशन एकेडेमीद्वारा आफ्ना पूर्वविद्यार्थी सम्मानित
रोल्पा – रोल्पाको श्री इन्द्रेणी समता एजुकेशन एकेडेमीले लोकसेवा आयोग, शिक्षक सेवा आयोगलगायतका प्रतिस्पर्धात्मक परीक्षामा सफलता हासिल गरी नेपालमै विभिन्न सरकारी तथा अन्य सेवामा आबद्ध भएका आफ्ना पूर्वविद्यार्थीहरूलाई सम्मान गरेको छ । माडी गाउँपालिका–३ मा अवस्थित विद्यालयले आफ्ना पूर्वविद्यार्थीहरूको सफलता र योगदानको कदर गर्दै सम्मान गरेको हो ।
विद्यालयले आयोजना गरेको सम्मान कार्यक्रमले विद्यार्थीहरूलाई स्वदेशमै बसेर मेहनत, लगनशीलता र इमानदारीका साथ आफ्नो भविष्य निर्माण गर्न प्रेरित गरेको छ । कार्यक्रमले शिक्षा हासिल गरेपछि विदेश पलायन हुनुभन्दा आफ्नै देशमा अवसर खोज्दै राष्ट्र निर्माणमा योगदान दिन सकिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको विद्यालयले जनाएको छ ।
आफ्ना पूर्वविद्यार्थीहरूको सफलतालाई सम्मान गर्दै वर्तमान विद्यार्थीहरूमा समेत आत्मविश्वास, परिश्रम र प्रतिस्पर्धात्मक भावनाको विकास गराउने उद्देश्य राखेको विद्यालयका प्रिन्सिपल कुल बहादुर डाँगीले बताएका छन् । यस्तो प्रेरणादायी कार्यले विद्यालय र पूर्वविद्यार्थीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै स्थानीय शैक्षिक क्षेत्रको विकासमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको उनको भनाई छ।





