इक्यान कास्की अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव
काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान), कास्की शाखा अध्यक्ष ओमप्रकाश गैरेविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । संघका ५८ सदस्य (मतदानको अधिकार भएका) मध्येबाट १८ सदस्यले अध्यक्षसहित सम्पूर्ण कार्यसमितिविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।
इक्यान कास्कीले गत भदौ २० र २१ गते आयोजना गरेको ८औं शैक्षिक मेलामा अनियमितता गरेको, शाखा सदस्यलाई रातारात मदिरा सेवनगरी धम्क्याउने गरेको, शैक्षिक मेलामा विश्वविद्यालयका गैरकानुनी स्टल राखेर सिधै विद्यार्थी भर्ना गर्न दिएको, इक्यान कास्कीमा मनोमानी गरेको लगायतका आरोप लगाउँदै पूर्णचन्द्र न्यौपाने, राजेन्द्र शर्मा लगायत १८ जनाले कास्की शाखामा अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।
उक्त प्रस्तावमाथि शुक्रबार (मंसिर ५ गते) छलफलका लागि समय तोकिएको छ । उक्त छलफलमा दुबै पक्षलाई मिलाएर लैजान इक्यानले पहल गर्ने बताइएको छ । इक्यान कास्कीका अध्यक्ष गैरेले अविश्वासको प्रस्ताव आएकोमा आफू जानकार रहेको बताए । मोटिभेट न्यूजसँगको टेलिफोन कुराकानीमा उनले सुरुमा १८ जनाको नाममा अविश्वासको प्रस्ताव आएको भएपनि पछि धेरैले फिर्ता लिइसकेको दावि गरेका छन् ।
यता, इक्यान केन्द्रले प्रस्तावमाथि छलफल हुने जनाएको छ । इक्यानका अध्यक्ष शेषराज भट्टराईले सदस्यहरुबाट आएको प्रस्तावमाथि छलफल गरेर समाधानको उपाय निकाल्ने बताएका छन् । इक्यान केन्द्रको सहभागितामा शुक्रबार छलफल हुने जनाउँदै भट्टराईले अविश्वासको प्रस्ताव आउनु दुःखद भएको बताए ।
तर इक्यान कास्कीका सदस्यले अविश्वासको प्रस्तावमाथि छलफल गर्न विशेष साधारणसभाको माग गरेका छन् । उक्त सभाबाट गैरे नेतृत्वको कार्यसमितिलाई विदाई गरेर नयाँ कार्यसमिति निर्वाचित गर्न समेत उनीहरुको माग छ । गैरे नेतृत्वको कार्यसमितिको कार्यशैलीबाट दिक्क भएका सल्लाहकारले सल्लाहकार पदबाट राजीनामासमेत दिएका छन् ।