महेश बस्नेतलाई ठोक्ने सुदन गुरुङको योजना लिग
काठमाडौँ – बाराको सिमरामा भएको झडपपछि जेनजी अगुवा सुदन गुरुङले महेश बस्नेतमाथि आक्रमणको योजना बनाएका छन् ।
जथाभावी बोल्दा दुर्गा प्रसाईंलाई पक्राउ गर्ने सरकारले बस्नेतलाई उन्मुक्ति दिएको भन्दै आफैँ अघि सर्न बनाएको योजनाको सूचना सुरक्षा निकायसम्म पुगेको छ । उच्च सुरक्षा स्रोतका अनुसार नेपाल प्रहरीको हेडक्वार्टरस्थित १ नम्बर गण र महाराजगन्जस्थित २ नम्बर गणको रिजर्भ फोर्सलाई सम्भावित दूर्घटनालाई मध्येनजर गर्दै स्ट्याण्डबाई राखिएको छ ।
भदौ २३ र २४ को घटनापछि दुश्मनीपूर्ण ढंगले प्रस्तुत हुँदै आएका नेकपा एमाले र जेनजी समूहबीच थप टकरावको सम्भावना देखा परेको छ । आज बारामा भएको दुई पक्षीय झडपले यस्तो अवस्था निम्त्याएको सुरक्षा निकायको विश्लेषण छ ।
एमालेको भात्री संगठन राष्ट्रिय युवा संघको कार्यक्रममा सहभागी हुन आज महासचिव शंकर पोखरेल र महेश बस्नेतसहितका नेता आउने थाहा पाएपछि जेनजी युवाहरूले सिमरा विमानस्थल परिसरमा प्रदर्शन गरेका थिए । त्यसक्रममा झडप हुँदा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ भने विमानस्थल बन्द गरिएको छ ।
कर्फ्युका बाबजुद अहिले पनि सिमरा आसपासका क्षेत्रमा ठूलो संख्यामा उपस्थित युवाहरूले टायर बालेर नारावाजीसहित प्रदर्शन गरिरहेका छन् । काठमाडौँमा पनि विरोध प्रदर्शन शुरु भएको छ । राष्ट्रिय जेनजी नेपालले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
घटनालाई लिएर एमाले नेता र जेनजी अगुवाबीच आरोप प्रत्यारोप चल्न थालेको छ । एमालेका केही नेताले आफ्नो कार्यक्रम बिथोल्न माओवादी र मधेशवादी दलले जेनजीलाई उचालेको आरोप लगाइरहँदा जेनजीहरूले भने झडपको कारक एमाले नै रहेको दावी गरेका छन् । महेश बस्नेतको निर्देशनमा एमालेका स्थानीय कार्यकर्ताले सम्राट उपाध्याय लगायतमाथि कुटपिट गरेको जेनजीको दावी छ ।
सुदन गुरुङहरूले भोलि च्यासलमा हमला गर्न सक्ने विश्लेषण गरेको प्रहरीले सो क्षेत्रमा थप सुरक्षा तैनाथी बढाउने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।
जेनजी मधेश प्रदेश संयोजक शिव यादवले आफूहरूको पूर्वनिर्धारित कार्यक्रम सञ्चालन हुँदै गर्दा एमालेको परिचालित भीडले भाँडेको आरोप लगाए । घटनाको मुख्य योजनाकार बस्नेत रहेको र उनलाई मधेश निषेध गर्ने चेतावनी दिँदै घटनामा संलग्नहरूलाई तत्काल कारवाही गर्न माग गरेका छन् ।
बारा घटनालगत्तै आन्तरिक छलफलमा जुटेका जेनजी अगुवा सुदन गुरुङले पनि बस्नेतमाथि तत्काल कारवाही अघि बढाउन सरकारलाई दबाब दिएको बुझिएको छ । दुर्गा प्रसाईंले जथाभावी बोल्दा पक्राउ गर्ने सरकारले बस्नेतलाई उन्मुक्ति दिएको भन्दै उनी रुष्ट छन् । केपी ओलीलाई बयानमा नबोलाएकोमा पहिलेदेखि नै रिसाएका गुरुङ सरकारले बस्नेतलाई पक्राउ नगरे आफैँ अघि सर्ने योजनामा रहेको सूचना सुरक्षा निकायसम्म पुगेको छ ।