बालेन शाहपछि कुलमान घिसिङ पनि काठमाडौंको फोहोर व्यवस्थापनमा असफल
काठमाडौँ – बालेन शाहपछि कुलमान घिसिङ पनि काठमाडौंको फोहोर व्यवस्थापनमा असफल भएका छन् । बालेन शाहले दुई बर्षअघि गरेको सम्झौता कार्यान्वयन गर्न माग गर्दै बन्चरेडाँडा, सिसडोलका स्थानीयले ल्याण्डफिल्ड साइडमा फोहोर फाल्न रोक लगाएका छन् । यसअघि सहरी विकास मन्त्री कुलमान घिसिङले १५ दिनसम्म माग पुरा गर्ने वचन दिएपछि स्थानीयले फोहोर फान्न दिएका थिए ।
नुवाकोटको ककनी र धादिङको धुनबँसीस्थित बञ्चरेडाँडामा फोहर विसर्जन गरिँदै आइएको क्षेत्रका बासिन्दाले विगतका सहमति कार्यान्वयनको माग राख्दै गरेको अवरोधका कारण उपत्यकाबाट फोहर बोकेर आएका गाडीलाई काठमाडौं फिर्ता पठाइएको छ ।
फोहोर विसर्जन वैज्ञानिक रूपमा व्यवस्थित गरिनुपर्नेलगायत विगतका सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले गत कात्तिक दोस्रो साता अनिश्चितकालीन बन्द घोषणा गरेका थिए । फोहोर विसर्जनमा गरिएको अवरोध खुलाउन प्रभावित क्षेत्रमा गत कात्तिक १६ गते पुगेका सहरी विकासमन्त्री कुलमान घिसिङले सहमति कार्यान्वयनको चरणमा लैजान गरेको प्रतिबद्धता पूरा नभएको भन्दै पुनः आजदेखि अवरोध गरिएको धुनबेँसी नगरपालिका(१ का स्थानीय निराञ्जन सञ्जेलले बताए ।
विगतमा भएका सहमति कार्यान्वयनमा लैजाने मन्त्रीको मौखिक प्रतिबद्धतामा ‘१५ दिनभित्र कार्य सुरू गर्ने’ अवधिको प्रगति उपलब्धिमूलक नभएपछि पुनः फोहर विसर्जनमा अवरोध गर्नुपरेको उनले बताए ।
‘सिसडोल बञ्चरेडाँडा-कुँडुले ल्याण्डफिल क्षेत्रमा फोहर व्यवस्थापनका सम्बन्धमा विगतमा भएका १८ बुँदे सहमति १५ दिनभित्र कार्यान्वयन सुरु हुन्छ भने पनि हालसम्म काम सुरु भएन । अहिले लिखित प्रतिबद्धतासहित काम सुरु हुनुपर्ने माग राखेका छौँ’, सञ्जेलले भने ।
ककनी गाउँपालिका-१, २ र ३ तथा धुनबेँसी नगरपालिका(१ र ३ वडाका प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर विसर्जन गर्न पुगेका गाडीलाई प्रवेश नदिई अवरोध जारी राखेका छन् । २०७९ जेठ २६ मा काठमाडौं महानगरप्रमुख बालेन्द्र साहसहितको टोलीसँग भएको १८ बुँदे सहमति कार्यान्वयन उनीहरूको बटमलाइन छ ।