दुर्गा प्रसाईंका साइवर सेनाहरु निर्णायक वारमा उत्रिए

बिहिबार, ४ मंसिर २०८२

काठमाडौं— दुर्गा प्रसाईंका साइवर सेनाहरु निर्णायक वारमा उत्रिएका छन् ।

अभिव्यक्ति दिएकै कारण प्रसाईंलाई पक्राउ गरेको विरोधमा नेपालका लागि नेपाली नामक ह्याकरको समूहले सरकारी वेवसाइड ह्याक गरेको छ ।

उक्त समूहले नेपाल विद्युत् प्राधिकरण, सडक विभाग, उद्योग विभाग, राष्‍ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण विभाग, मिर्मिरे लघुवित्त लगायत संस्थाको वेबसाइट ह्याक गरेको छ । ह्याकरको समूहले प्रसाईंलाई नछोडे साइवर हमलालाई व्यापक बनाउने धम्कीसमेत दिएको छ ।

उक्त समूहले वर्तमान अन्तरिम सरकारविरुद्ध साइबर युद्धको घोषणा गरेको छ । उसले भनेको छ, ‘हामीले दुर्गा प्रसाईँलाई रिहा गर्न सरकारलाई धेरै पटक समयसीमा दिएकाले हामी नेपालको अन्तरिम सरकार विरुद्ध साइबर युद्धको घोषणा गर्छौँ । गिरफ्तारी साँच्चै अलोकतान्त्रिक र विशुद्ध राजनीतिक थियो ।’

अब झन् अन्तरिम सरकारसँग जोडिएका सबै साइटहरूमा द्रुत रूपमा आक्रमण गर्ने समेत उक्त समूहको धम्की छ । उक्त समूहले आफ्नो उद्देश्य अन्तरिम सरकारसँग जोडिने सबै कुरामाथि आक्रमण गर्नु र डाटा सेन्टरबाट सबै कुरा मेटाउनु रहेको समेत जनाएको छ । आफूसँग प्रत्येक डाटा सेन्टरमा पहुँच रहेको र प्रत्येकलाई आक्रमण गर्ने जनाएको छ ।

यद्यपि उक्त समूहले भनेका सबै संस्थाका वेबसाइटमा हाल कुनै अवरोध भने देखिँदैन ।