अर्बिटका सुनिललाई पनि पक्राउ गर्ने सीआईबीको तयारी
काठमाडौं – अर्बिट मेडिकल इन्ट्रान्स प्रिपेरेसन सेन्टरका सञ्चालक सुनिल रेग्मीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले पक्राउ गर्ने भएको छ । प्रभु बैंक घोटाला प्रकरणमा जोडिएका रेग्मीलाई अनुसन्धानको दायरामा ल्याउने भएको हो ।
प्रभु बैंकको शैक्षिक कर्जा प्रकरणमा सीआईबी बैंकका उच्च अधिकारीहरूसँग मिलेर शैक्षिक कर्जा स्वीकृतिको नाममा बैंकलाई प्राप्त हुने सेवा शुल्क बाँडफाँट गरी बैंकलाई आर्थिक नोक्सानी पुर्याएको आरोपमा सीआईबीले पक्राउ गर्ने भएको हो । मोटिभेट न्यूजले तीन बर्षअघि, ‘तेस्रो पटक किन सीईओ बन्दैछन् अशोक शेरचन ?’ शीर्षकमा समाचार लेख्दै नक्कली कर्जाको खेलोमेलोबारे समाचार लेखेको थियो ।
समाचारमा प्रभु बैंकको कमलादी शाखामा पुतलीसडकस्थित अर्बिटलाई बैंककै प्रतिनिधिजस्तै राखी गोप्य बैंकिङ कारोबारमा अनधिकृत पहुँच दिएको उल्लेख छ । अनुसन्धानका क्रममा अर्बिटसँग सम्झौता गर्न तत्कालीन सीईओ अशोक शेरचनसहित बैंकका उच्च अधिकारीहरूको मिलेमतो रहेको सीआईबीको दाबी छ।
रेग्मी सीईओ शेरचनको गृहजिल्ला बागलुङकै हुन् । बैंकका सीईओ अशोक शेरचन डीसीईओ मनिराम पोखरेल लगायतलाई गत मंसिर १४ गते पक्राउ गरी अनुसन्धान गरिरहेको छ । बैंकलाई हानी–नोक्सानी पुर्याई आपराधिक लाभ लिने सबै व्यक्ति अनुसन्धानको दायरामा आउने सीआईबीका अधिकारीहरू बताउँछन् ।
अनुसन्धानमा शैक्षिक कर्जा स्वीकृति तथा स्वदेश–विदेशका निकायमा बुझाउनुपर्ने शुल्क विद्यार्थीले अनलाइनमार्फत भुक्तानी गर्दा प्राप्त हुने कमिसन सिधै बैंकको खातामा जानुपर्नेमा अर्बिटको नाममा बुक गरी बैंकको आम्दानी बाँडीचुँडी हिनामिना गरिएको छ । सोही विषयको अनुसन्धानका लागि रेग्मीलाई पक्राउ गर्न लागिएको सीआईबी श्रोतले जनाएको छ ।
कन्सल्टेन्सीमै पुग्छ प्रभु बैंकको नक्कली शैक्षिक कर्जा, सीईओकै छ मिलेमत्तो