पूर्व लडाकू लेलिन विष्टद्वारा प्रचण्डलाई जवाफ, कहिले पुग्छन् हेगमा प्रचण्ड ?
काठमाडौं – पूर्व माओवादी लडाकू लेलिन बिष्टले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाव फर्काएका छन् । उनले जवाफमा प्रचण्डलाई आफू हेग पुर्याउन तयार रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय अदालत (हेग) लगेमा आफूलाई केही फरक नपर्ने भन्दै प्रचण्डले उल्टै संसारको हिरो बनेर निस्कने अभिब्यक्ति दिएपछि लेलिन विष्टको यस्तो जवाफ आएको हो । विष्टले प्रचण्डको अभिब्यक्तिले उनलाई छटपटाहट सुरु भएको बताए ।
‘हामीले न्यायका लागि अन्तर्राष्ट्रिय पहल गरिरहेका छौँ, प्रचण्डको हिरो बनेर निस्कने अभिव्यक्ति त्यसैको नतिजा हो’ विष्टले भने, ‘हिरो नै बन्न मन भए पीडितहरु सबै एक ठाउँमा छौँ, उनलाई हेग लैजान तयार छौँ । ’
विप्लवले नेतृत्व गरेको नकपाका केही नेताहरुलाई आफ्नो पार्टी नेकपामा प्रवेश गराउँदै प्रचण्डले आफूलाई हेग लैजाने भन्दै दिइएको धम्कीलाई ‘प्रतिगामीको डिजाइन’ को संज्ञा दिएका थिए ।
हेग लगेमा संसारकै हिरो बनेर निस्कने बताएका प्रचण्डले भनेका थिए, ‘तर मलाई यिनीहरुले हेग लगेर हिरो बन्न दिन्छन् जस्तो लाग्दैन ।’