बन्द अपडेट : बम विस्फोटले सरकारी कार्यालय ध्वस्त
काठमाडौं – विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका क्रममा नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा बम विस्फोट भएको छ । गएराति बम विस्फोट हुँदा वडा कार्यालय पुरै धोस्त भएको खवर प्राप्त भएको छ ।
विष्फोटबाट कार्यालयमा रहेका कागजपत्र, कम्युटर लगायत महत्त्वपूर्ण सबै सामाग्री जलेको प्रहरीले जनाएको छ । विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको १५ जिल्ला बन्दको प्रभाव उपत्यका सहित सबै जिल्लामा परेको छ । बन्दका क्रममा बनेपामा शक्तिशाली बम बिष्फोट भएको छ ।
त्यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० को बडा कार्यालयमा पनि बम विस्फोट भएको छ । त्यहाँ पनि पूर्ण रुपमा वडा कार्यलय धोस्त भएको बताइएको छ ।
बन्दको पूर्वसन्ध्यामा काभ्रेको बनेपा नगरपालिकास्थित बजार क्षेत्रमा मंगलबार राति बम विस्फोट भएको प्रहरीले जनाएको हो । बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै शक्तिशाली बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले पुष्टि गरेका छन् ।
विष्फोटपछि स्थानीय त्राहिमाम बनेका छन् भने सुरक्षा सतर्कता थप गरिएको प्रहरीले जनाएको छ । बम बिस्फोटको घटना पछि बुधबार बनेपा बजारमा बन्दको प्रभाव परेको छ ।
यता बन्दको पूर्व सन्ध्यामा मंगलबार राति पार्टीकै कार्यकर्ताले झापाको भद्रपुर र दमकस्थित एनसेलका दुईवटा टावरमा आगजनीको प्रयास घरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले दिएको जानकारी अनुसार विप्लवका कार्यकर्ताहरुले एनसेलको टावरमाथि लक्षित गर्दै आगजनी गरेका हुन् ।
त्यस्तै, बन्दको अवज्ञा गरेको भन्दै मकवानपुरमा दुई ओटा गाडीमा आगजनी भएको छ । हेटौंडाका विभिन्न स्थानमा बम पनि फेला परेका छन् ।
बन्द आह्वानको पूर्वसन्ध्यामै हेटौंडा–नारायणगढ खण्डअन्तर्गत मनहरी–९, ज्यामिरेमा बा ५ ख १७३९ नम्बरको ट्रक र मकवानपुरकै फाखेल–हुमाने भञ्ज्याङ्ग सडक खण्डमा बा १४ च ८२३४ नम्बरको कारमा आगजनी गरिएको हो ।
आगजनीका कारण कार पूर्ण रूपमा क्षति पुगेको र ट्रकको अगाडिको भाग मात्र जलेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए ।
त्यसैगरी, हेटौंडाका थानाभर्याङ, चौकीटोल, हुप्राचौरको क्विक २० नजिकै शंकास्पद् वस्तु सेनाको टोलीले निष्क्रिय पारेको छ । हेटौंडाको मुख्य बजारको पारिजात पथमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पार्न सेनाको टोली आउँदै गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको विरोधमा नेकपाले बुधबार बागमती र नारायणी अञ्चल तथा रामेछाप र दोलखा जिल्ला बन्द आह्वान गरेको छ ।
